म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित गलेश्वर शिवालयमा आज (मङ्गलबार) बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गतवर्ष सामान्य पुजा भएकोमा यसपटक महाशिवरात्रि पर्वको अवसरमा भक्तजनको भीड बढेको हो ।

महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुले पुजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनीबजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाहरुबाट आएका भक्तजनहरुको पुजाआजा गरेका छन् ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वका दिन भक्तजनहरुले शुद्ध भई ‘ॐ नम ःशिवाय’ मन्त्र जप्दै पुजाअर्चना गरी ब्रत बस्ने र भगवान् शिवको प्रिय बस्तु दुध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पुजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वलाई भव्य र सभ्य रुपमा मनाउन र पुजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिहरुमार्फत काम गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले गलेश्वर शिवालयमा पुजाआजा गर्न आउने श्रद्धालु भक्तजनहरुको सहज व्यवस्थापनमा जिल्लास्थित विभिन्न संघसंस्थाले सहयोग गरेको बताउँदै कोरोना र लकडाउनपछि शिवरात्रिमा सबैभन्दा धेरै भक्तजनहरु आएको हुँदा करिब ३० हजारको हाराहारीमा श्रद्धालु, भक्तजनहरुले दर्शन तथा पुजा गर्ने अनुमान गरिएको बताउनुभयो ।

महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल ब्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवपुजा गर्दछन् । शिवरात्रि पुजाको ब्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसैगरी शिव पुजा गर्दा इशान मूर्तिलाई दुधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्युले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।

यसैबीच म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि मङ्गलबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर शिवालयभन्दा नजिकमा रहेको बेनी शिवालयको १०८ शिवलिङ्गमा पुजा गर्ने भक्तजनरुको घुइँचो लागेको बताइएको छ । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनहरुलाई सहज रुपमा पुजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ । शिवरात्रि पर्वमा भक्तजनहरुले निर्जल ब्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवपुजा गर्दछन् ।

खासगरी हिन्दू धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउने गर्दछन् । फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहिआएको छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।

Leave a Reply