बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा साढे ३ लाखभन्दा बढी भेटी संकलन भएको छ ।

शिवरात्रीको भोलीपल्ट बुधबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । मंगलबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको तिन लाख ५३ हजार ८७ भेटी सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताईन्।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा फिजारिएर करिव ३ घण्टासम्म गनेर सार्वजनिक गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

‘कोरोनापछि भक्तजनको भिड लागेको थियो, अघिल्ला शिवरात्रीको तुलनमा झण्डै एक लाख बढी संकलन भएको छ’ अध्यक्ष रेग्मीले भने । संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गतवर्ष सामान्य पुजा भएकोमा यसपटक महाशिवरात्रि पर्वको अवसरमा भक्तजनको भीड बढेको हो ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

 

Leave a Reply