म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक खण्ड स्तरोन्नतीको काम तिब्र गतिमा अगाडी बढेको छ । छिमेकी राष्ट्र भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजनाको कोरला नाकासंग जोड्ने खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ ।

गत चैतमा ठेक्का सम्झौता गरी काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउनका लागि कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण लगायतको संरचनाको काम गरिरहेको छ ।

गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउन देखि सडक निर्माण थालेको बेनी–जोमसोम कोरोला सडक आयोजनाका प्रमुख जगत प्रजापतीले बताए ।

‘३० महिनामा सम्पन्न गर्ने गरी आयोजनाले ठेक्का सम्झौता गरेको थियो,‘प्रयाप्त जनशक्ती सहित काम भइरहेको छ’ प्रमुख प्रजापतिले भने ।  उनले पर्वतको मालढुङ्गा देखि ८ किलोमिटर सम्मको खण्डमा मजदुर र उपकरण परिचाल गरेर काम भइरहेको बताए । सडकखण्ड अन्तरगत ५ किलोमिटर सम्मको खण्डको स्ट्रक्चरको काम करिब अन्तिम चरणमा पुगेको बताए ।

कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता दिएको निर्माण व्यवसायीको कामको गतिले सम्झौताभित्रै सम्पन्न हुने देखिएको उनले बताए । उनले आगमी २०७९ को चैत सम्म मसान्त सम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

म्याग्दी र मुस्ताङको प्रवेशद्धार भएकाले समेत सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजना पक्षको टोली सडकखण्डमा निरन्तर खटिएको छ । सडकमा कामलाई अवरोध नहुने गरी प्रत्येक दिन विहान ७ बजे देखि राती ९ बजेसम्म काम गर्न आवश्यक उपकरण समेत रहेको ठेकेदार कम्पनीको भनाई छ ।

२०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सडक विस्तारपछि १३ किलोमिटर सडक साँधुरो र जिर्ण हुदाँ यात्रुलाई सास्ती हुने गरेको थियो ।

६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने छ ।बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज बनाई निर्माण भैरहेको छ ।

Leave a Reply