म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्ने क्रममा भेटिएको थियो ।

करिब दुई साता अगाडी जलविद्युत आयोजनाको पिप्लेबाट सङ्केत नंवर (ज ५५)५७३८६६) र सङ्केत नंवर (ज ५५)५७४०८१) नम्बरको नोट संकास्पद देखिएपछि थप परीक्षण सहित अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । ‘गाउँमा भेटिएको नोट नक्कली देखिएको छ,‘नक्कली नोटको आशंका गरेमा तत्काल खवर गर्नु अनुरोध समेत गर्छु’ प्रनाउ राईले भन्नुभयो ।

उहाँले बजारमा नक्कली नोट छ्यापछ्याप्ती नभएको बताउनुभयो।आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको थियो ।आयोजनाको सुरुङ निर्माणतर्फ अधिकाँश भारतीय कामदार कार्यरत छन् ।

सिमा क्षेत्रबाट नक्कली नोट गाउँमा पुगेको हुनसक्ने भन्दै आयोजना पक्षलाई समेत आफ्नो मातहतका मजदुरका बारेमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन गरिएको प्रहरीले जनाएको छ ।नक्कली नोटका बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीमा नोट सहित पठाइएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ ।

म्याग्दीमा भिडभाड हुने स्थान, पसल, वित्तिय संस्थामा यसअगाडी समेत नक्कली नोट भेटिएको थियो । झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट हेरेर र छामेर चिन्न सकिन्छ । सक्कली नोट नयाँ होस वा पुरानो छाम्दा खस्रो हुन्छ भने नक्कली नोट चिल्लो हुने भएकाले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्ने वित्तिय संस्थाका प्रतिनिधिहरुको भनाई छ ।

Leave a Reply