म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका-८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो ।

कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रबार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो ।

उक्त जग्गा नापी कार्यालयका प्राविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । साँध सिमानामा रहेका छ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ । नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बालउद्यानसँगै कालीपुल बसपार्कमा पुग्ने पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष बराइलीले जानकारी दिए ।

“यस आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजन गरिएको रु चार लाखबाट सार्वजनिक जग्गा घेराबार गर्नेर्छौं, जग्गा संरक्षणसँगै थप बजेटको व्यवस्था गरेर बालउद्यान निर्माण गर्ने योजना छ”, उनले भने ।

सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनीतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिले अटेरी गरिरहेका छन् ।

Leave a Reply