अन्नपूर्ण गाउँपालिकाको तारो समूह “अन्नपूर्ण आर्चरी संघ” द्वारा वडा नं ६, पोखरेबगरको ठुलो बगरमा वडा स्तरीय तारो खेल प्रतियोगिता सम्पन्न भएको छ ।

फाल्गुण १७ देखि २० गते सम्म संचालन भएको उक्त तारो खेल प्रतियोगितामा वडा नं १ दोबाबाट दोबा ए, वडा नं २ भुरुङ तातोपानीबाट भु.तातोपानी ए, वडा नं ३ दानाबाट दाना ए र बि, वडा नं ५ शिखबाट शिख ए, वडा नं ६ घोरेपानीबाट घोरेपानी ए र वडा नं ७ हिस्तानबाट हिस्तान ए, गरी जम्मा ७ टिम सहभागी भएका थिए । तोकिएको १५ ढोर हानिसकेपछि खेल सकिएको थियो ।

यस तारो खेलमा सबैभन्दा बढी शिख ए ले १८० अंक प्राप्त गरेर प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । बिजेता टिमलाई रु एकतिस हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै भुरुङ तातोपानी ए ले १६९ अंक सहित दोस्रो स्थान प्राप्त गरि रु एक्काइस हजार र दाना ए ले १६८ अंक सहित तेस्रो स्थान प्राप्त गरि रु एघार हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

खेलमा सर्वाधिक खोलको लागि दाना ए का कुमार र घोरेपानी ए का चित्रले ३÷३ खोल हान्नुभएको थियो । तर सर्वाधिक खोल कर्ता छान्नका लागि फेरि हान्न लगाईएको र त्यसमा कुमार छनोट हुनु भएको थियो । सर्वोत्कृष्ट खेलाडी भुरुङ तातोपानी ए का मिन कुमार छनोट भएको अन्नपूर्ण गापा तारो समूह मुल समितिका सदस्य एवं शिख तारो समूहका खेलाडी गोविन पुर्जाले बताउनु भयो ।

 

Leave a Reply