हिमपहिरोले पुरिएर मरेका चौरी। तस्बिर : सौजन हिराचन।

मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए।

जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा हिमपहिरो गएको उनले बताए । ‘करिब सवा चार बजे हिमपहिरो गएको हो,’ ढकालले भने, ‘त्यति लामो पहिरो छैन, क्षतिबारे थप बुझ्दैछौं ।’

यही स्थानमा कात्तिक तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।

हिमपहिरोका कारण चौँरीगोठ पुरिएको हो । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका चौँरी हिमपहिरोमा पुरिएको हो ।

‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने । उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताए । ‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् ।’

Leave a Reply