बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ नगरपालिका–४ कुडुले जोड्ने लामो झोलुङ्गे पुलको निर्माणकार्य द्रुत गतिमा अगाडी बढेको छ। गत मंसिरबाट निर्माण थालिएको पुलको सम्झौता अवधिभन्दा अगाडी नै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । धार्मिक तथा पर्यटकीय गन्तब्यका साथै स्थानीयको सहजताका लागि दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो हुने छ । पुलका कारण स्थानीयले रोजगारी समेत पाएका छन ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउनेलाई रत्नेचौरको खेलमैदान, धौलागिरी क्षेत्रकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने अध्यक्ष रावलको भनाई छ । पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ ।

पुल निर्माण गर्नका लागि बानपा ४ कँुडुले निवासी जयलाल सापकोटा, ईन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीय यूवा बिक्रम बोगटीले बताए ।

रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दा सदरमुकाम बेनी भन्दा बागलुङमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहज हुने अपेक्षा गरिएको भानु मावीका प्रधानाध्यापक भरत खत्रीले बताए । उनले पुलमा विद्यालयका शिक्षकले श्रमदान समेत गरेको बताए। रत्नेचौर हुदै ज्यामरुककोट जाने सडकको कालोपत्र सहित विभिन्न पूर्वाधारको काम समेत धमाधम भइरहेको छ ।

Leave a Reply