म्याग्दीको अति विकट गूर्जा जोड्न प्रस्ताव गरिएको सुरूङमार्ग अत्याधिक लागतका कारण प्रक्रियामै नभई रद्ध भएको छ । सुरूङमार्गको प्रारम्भीक सर्वेमा साढे ४ लाख खर्च भएको थियो ।

लुलाङको जरे ओढार देखी गुर्जाको लट्टेबाङसम्म करिव २.६ किलोमिटरको मार्गका लागि २ अर्व ६ करोड लागत जुटाउन नसक्ने अवस्था भएपछि प्रक्रियामै प्रवेश गर्न नसकिएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

‘हाम्रो परिकल्पना अनुसार अगाडी बढ्न सकेन,‘एउटा सर्वे सस्तो र बहुउपयोगी हुने देखिएपनि स्रोत जुटाउनै नसक्ने अवस्था देखिएपछि योजनाबाटै हटाइयो’ वडा अध्यक्ष छन्त्यालले भने ।

जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पको रुपमा लिइएको सुरूङमार्गको बारेमा प्रदेश र संघीय सरकारमा समेत जानकारी गराइएपनि चासो नदेखाएको वडा अध्यक्ष छन्त्यालको भनाई छ ।

प्रारम्भीक सर्वेको जिम्मा पाएको स्टेन्थ डेललपर्स प्रालिका ईन्जिनियर कृष्ण गौतमको टोलीले पटकपटक गरिएको स्थलगत अनुगमनको आधारमा लुलाङ देखी गुर्जासम्मको पहाडमा कडा चट्टान, भूकम्प र पहिरोको जोखिमको सम्भावना समेत रहेको बताएका थिए ।

फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युतको टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन १० लाख लागत लाग्ने देखिएको थियो । तत्काल छिमेकी वडाबाट सडक सञ्जाल पुग्ने अवस्था नभएकाले वडा अध्यक्ष छन्त्यालले उक्त प्रस्थावलाई गाउँपालिकाबाट पारित गरी सर्वेका लागि बजेट समेत विनियोजन गर्न सफल भएका थिए ।

जिल्लाको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको अवस्थामा लुलाङबाट देउरालीको उकाली ओराली हुदै गुर्जा पुग्न लाग्ने करिव आठ घण्टालाई सुरूङमार्गबाट करिव आधा घण्टामा यात्रा छोटिने थियो ।

लुकेको बस्तीको नामले समेत चिनिने बस्ती हुदै गुर्जा, चुरेन, पुथा हिमालमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित, तामाखानी, बहुमुल्य धातको खानी, जडिबुटी निकासी, बनपैदावार लगाएत प्रचुर सम्भावना रहेको छ । गूर्जाका स्थानीयले सडक सञ्जालले गाउँ जोड्न बषौंदेखि माग गरेका छन् ।

Leave a Reply