रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ ।जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ । उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो । गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो ।

उहाँले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताउनुभयो । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन् ।

समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरु गाँस काटेर जम्मा गरेको रकम र बिभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताउनुभयो । फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका बिभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताउनुभयो ।

फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन् । समाजले उपलब्ध गराउने सुविधा सबै जाति तथा विपन्न समुदायका लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गुरुङले जानकारी दिनुभयो ।

हाल समाजले उच्च मूल्यमा बिक्री गर्न सकिने फलफूललगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको छ । अभियान सञ्चालनको पूर्वतयारीअनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देवीस्थानलगायतका ७०० मिटर उचाइबाट करिब दुई हजार मिटर उचाइसम्मको दूरीमा माटो परीक्षणसमेत गरिएको छ । योजनाविज्ञ डा योगेन्द्र रिजालले यस क्षेत्रमा ओखरखेतीलाई मुख्य खेतीका रूपमा प्रवद्र्धन गर्ने गरी परीक्षण गरिएको र उक्त ओखरखेतीको सम्भाव्यता रहेको बताउनुभयो । कार्यक्रममा कृषिविज्ञ नीलकण्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफूल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गर्नुभएको थियो ।

Leave a Reply