पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोड रुपैयाँको सुन्तला निकासी भएको छ । पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका किसान आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपालि प्रतिकिलो १ सय ४० रुपैयाँका दरले चार करोड रुपैयाँ बराबरको सुन्तला निकासी भएको जानकारी दिनुभयो ।

‘गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो’, उहाँले भन्नुभयो, ‘भाउ पनि राम्रो पाइयो ।’ उहाँका अनुसार बाँसखर्कमा बसोबास गर्ने २ सय ६१ मध्ये २ सय घरले २५ हजार बोट सुन्तला खेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरूपमा बजार र उचित मूल्य पाउन थालेपछि किसान सुन्तला खेती विस्तारमा लागेका हुन् ।

किसान जगतबहादुर खत्री, तस्बिर : सामाजिक सञ्जालकिसान जगतबहादुर खत्री, तस्बिर : सामाजिक सञ्जाल

एउटा किसानले वर्षमा सुन्तला बेचेर १५ लाख रुपैयाँसम्मको आम्दानी गर्छन् । किसानले मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तला खेती गरेका छन् । किसान रुद्रबहादुर खत्रीले यसपालि  आठ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको बताउनुभयो । ‘फल र गुणस्तर राम्रो भएकाले विदेशको विकल्पमा यहीँ सुन्तला खेती गरेको छु’, उहाँले भन्नुभयो, ‘अनुकूल हावापानी, भूगोल, राम्रो उत्पादन र मूल्यका कारण बाँसखर्कमा सुन्तला खेती फस्टाएको छ ।’

बेनी, कुश्मा, बाग्लुङ, पोखरा, काठमाण्डौ, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैँचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका किसान ख्यामबहादुर खत्रीले बताउनुभयो । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो ।

बगैँचा व्यवस्थापन र झरेका दानाको सुरक्षित व्यवस्थापन गरेकाले यसपालि सुन्तलाको उत्पादन बढेको किसान शिवबहादुर खत्रीले बताउनुभयो । ‘हाँगा काटछाट, मलजल गरेकाले यसपालि उत्पादन बढेको हो’, उहाँले भन्नुभयो, ‘किराले झरेका सुन्तलाको दानालाई प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेकाले यसपालि यो समस्या पनि कम भयो ।’

बाँसका घारी मात्रै हुने भएकोले  ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर अहिले सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनि बढ्दै गएको छ ।

यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका हुन् । सिँचाइ बाँसखर्कको सुन्तला खेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको किसानले गुनासो गरेका छन् ।

Leave a Reply