लेकै फुल्यो लालीगुराँस, रमाउन थाले पर्यटक

सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससंग रमाउन आन्तरिक पर्यटकहरु लेकतिर उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगलहरु राता देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।

म्याग्दीका अन्नपूर्ण,रघुगंगा,मालिका,मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुरासँ फुलेर बन पाखानै राताम्यै देखिन थालेका छन् । फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।

म्याग्दीका जंगलमा पुसदेखि नै लालिगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूलहरु पाक्न थालेका थिए । यसर वेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरुले बताएका छन् ।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँस फूल चैत–बैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ” बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

लागिगुराँस मात्रै नभएर अन्य फुलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका ३ का जगवहादुर विकले भन्नुभयो “अहिले वेमौसममा नै काफल,तिजु लगाएतका जंगली फल पाकेको र गुरास फुलेको पाइएको छ ।”

वातावरणवीद् चन्द्रमणी सापकोटाका अनुसार स्वभाविक समय अगाडी नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम बृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् ।उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।