गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताउनुभएको छ । आज (सोमबार) म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा आयोजित धार्मिक महोत्सवको उद्घाटन गर्दै उहाँले प्रदेशको विकास र समृद्धिको आधार पर्यटन भएको बताउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका स–साना धार्मिक सर्किटहरुलाई जोडेर गण्डकी प्रदेशमा धार्मिक पर्यटन वृद्धि गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

हालै मात्र पोखरा–जनकपुर सीधा हवाई सेवाको आरम्भ गरेर दुई प्रदेशको बीचमा आपसी सम्बन्ध स्थापना गरिएको बताउँदै उहाँले अब जनकपुर–मुक्तिनाथ–लुम्बिनी र विन्ध्यावासिनीलाई धार्मिक सर्किटको रुपमा विकास गरिने बताउनुभयो ।

गण्डकी प्रदेशभित्र सबै चिजमा विविधता भएको र त्यसभित्र एकता रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बहुभाषी, बहुधर्म र बहुजातिले गण्डकी प्रदेश सम्पन्नशाली रहेको उल्लेख गर्नुभयो ।

उहाँले समग्र गण्डकी प्रदेशलाई सबैको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने आफ्नो योजना रहेको सुनाउँदै यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने धारणा राख्नुभयो ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आयोजित महायज्ञको उद्घाटन समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रमुख शुक्रराज शर्मा, जिल्ला सभापति खमबहादुर गर्बुजा, नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर केसी र राप्रपाका पूर्व अध्यक्ष एकेन्द्र रावल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल लगायतले आाफ्नो मन्तब्य राख्नुभएको थियो ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आगामी ३० गतेसम्म सञ्चालन हुने मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो ।

महोत्सवमा रत्नेचौर सहित छिमेकी बागलुङ लगायत विभिन्न क्षेत्रबाट दर्शनका लागि आउने आयोजनकले जनाएको छ । महोत्सवको अध्यक्षता महत, स्वागत बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावल र सञ्चालन प्रचारप्रसार संयोजक विक्रम बोटीले गर्नुभएको थियो ।

Leave a Reply