तिमीलाई जस्तो श्रीमतीको आवश्यकता छैन मलाई !
म त्यो सबथोक हुँ, जसको म चाहना राख्छु ।
मैले आफूलाई सम्हाल्न सक्छु,
मेरो घरलाई सम्हाल्न सक्छु ।
मेरो लागि खाना म आफै पकाउन सक्छु,
मैले खाएको भाँडा म आफै माझ्न सक्छु ।
मेरो सुरक्षा म आफै गर्न सक्छु,
म आफै कमाउन सक्छु ।
म आफूलाई मन परेको ठाँउमा घुम्न सक्छु ।
मन परेको लुगा किन्न सक्छु ।
मीठो खाने चिज पकाउन सक्छु ।
मेरो बाल बच्चालाई म आफै पढाउन सक्छु अनि स्याहारसुसार गर्न सक्छु ।
मेरो परिवारलाई म आफै पाल्न सक्छु ।
म त्यो सबथोक गर्न सक्छु, जुन तिमी सोचिरहन्छौ, म गर्न सक्दिनँ कि भन्ने ।
म मेरो हकको वकालत आफै गर्न सक्छु ।
म मेरो समस्याको हल आफै निकाल्न सक्छु, यी अदृश्य कुसंस्कारका हतकडी म आफै तोड्न सक्छु।
तिमी जस्तो यौन सुखको भोगी होइन म ।
म नारीवादीमा पनि उदार नारिवादी हुँदै आमूल परिवर्तनकारी नारी बन्न सक्छु ।
तर, तिम्रा अथक प्रयासहरु जारी छन्, मलाई आवाजविहिन बनाउन,
मलाई कैदी बनाउन, तिम्रा घरको चौघेरामा सीमित राख्न र मलाई कमजोर तुल्याउन ।
तर पनि म डराउँदिन तिमीसँग । मेरो रक्षक म आफै हो ।
मेरो शुभचिन्तक म आफै हो । म आफ्ना लागि आफै गर्न सक्छु ।
अस्तित्वको लडाइँमा यहाँसम्म आइपुग्दा,
म केही नयाँ बनेको छु, धेरै खुशी छु,
यो नयाँ रङ ! स्वतन्त्रताको रङ, जुन मैले आफूले आफैलाई दिएको हुँ, त्यो रङ सारै सुहाउछ मलाई ।
म अझै लडिरहने छु, यी रङहरुको लागि र बटुल्नेछु अझै कयौँ रङहरु, बनाउनेछु एउटा सुनौलो इन्द्रेणी र
छरिदिनेछु ती प्रत्येक बेरङ्गी जीवनहरुमा र दिलाउनेछु हरेक नारीलाई आफ्नो अस्तित्वको रङ तमाम रङहरुभन्दा निकै प्रिय भएको आभाष !

राष्ट्रिय किशोरी सञ्जाल
केन्द्रीय सदस्य, म्याग्दी

Leave a Reply