म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको अलपत्र परेको भन्दै स्थानीयले ध्यानार्कषण गराएका छन् । हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको सडकको सम्झौता अनुसारको तोकिएको मेसिनरी र ग्यावीयन पर्खालको निर्माण सकिएपनि काम नसकिएकाले अधुरो बन्ने भन्दै तत्काल बजेट थप सहित प्रक्रिया अगाडी बढाउन आम भेलाले निर्णय गरेको छ । ‘सडकलाई अधकल्चो बन्ने चिन्ता छ,‘भेरियसन थप गर्न दिइएको कागजातलाई अगाडी बढाउन अनुरोध गर्दछौ’ गाउँपालिका अध्यक्ष क्या.डमबहादुर गर्बुजाले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै पर्यटकीय स्थल घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति गर्न वि.स. २०७५ मंसिर देखि आयोजना सुरु गरेको थियो ।

कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलीङ बनाउन र ३.७५ किलोमिटर कालोपत्रे गर्न बि.स. २०७५ मंसिर ९ गते रु. २७ करोड ९१ लाख ३५ हजार २२० मा मोतीदान–जयमाता जेभीसँग सम्झौता भएपनि अलपत्र बन्ने खतरा बढेपछि स्थानीय सहितको भेलाले पूर्वाधार कार्यालयको ध्यानार्कषण गराएको स्थानीय पत्रकार सुरेन गुरुङले बताए ।

आयोजना प्रभावित शिख, फलाते र चित्रे खण्डका स्थानीयले सडकबाट स्थानीयलाई समेत असर गरेकाले सडकलाई कुनैपनि हालतमा सम्पन्न गर्नुपर्ने स्थानीयको माग थियो ।

म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि महत्वपूर्ण मानिन्छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

Leave a Reply