‘आर्थिक अध्ययन कठिन विषय हो। राजनीति झन जेलिएको बिषय हो।’ यस्तो मान्ने नेपाली पाठकको संख्या नमान्नेको तुलनामा उच्च छ। अर्थशास्त्रका पुस्तकमा बिदेशी विद्वानका कठिन सैद्धान्तिक ब्याख्यालाई बुझ्न नसक्दा यो बिषयको अध्ययनबाट शैक्षिक उन्नति‌ हासिल गर्न सकिन्न भन्ने ठानी बाटो बदल्ने नेपाली बिद्यार्थीहरुको संख्या पनि उत्तिकै छ। यस्तो परिवेशमा पाठकको मनमा कुत्कुती जगाउन एउटा पुस्तक निस्किएको छ- ‘विश्व आर्थिक क्रान्ति: सुमेर देखि सिलिकन भ्यालीसम्म’ । शिर्षकले अध्ययनबाट बिमुख गराउने डर हुँदाहुँदै यो चुनौतीको पहाड उक्लने साहस आर्थिक इतिहासका गम्भीर अध्ययनकर्ता लेखक कृष्ण पौडेलले गरेका हुन्। म्याग्दी बेनीका भीर-पाखा चहार्दै हुर्किएका लेखक आफू अर्थशास्त्रका बिद्यार्थी हुँदा आफ्नो अध्ययनका बेला खड्किएको अभावमा एउटा सानो भएपनि योगदान गरौँ भन्ने सोच्दासोच्दै परिबन्दले परदेशी भए। स्वीडेनको लुण्ड विश्वविद्यालयबाट आर्थिक इतिहासमै थप विद्वत्ता हासिल गरेपछि आफूले जानेका कुरा स-सानो सर्कलमा सुनाउँदै र पत्रपत्रिकाका पानामा पोख्दै आए। अब लेखाइलाई पाठकको ठूलो समूहमा पुर्याउनुपर्छ, बुझ्नेगरी आर्थिक अध्ययनमा पाठकको रुची बढाउनुपर्छ, आर्थिक इतिहासका पाटाहरू केलाउँदै आर्थिक राजनीतिको बहस सिर्जना गर्नुपर्छ भन्ने निधोमा पुगेपछि यो पुस्तक लेख्ने काममा समर्पित भएका हुन् । ‘विश्व आर्थिक क्रान्ति: सुमेर देखि सिलिकन भ्यालीसम्म’ आदिम मानव सभ्यता देखि आधुनिक बिद्युतिय युगको सरल भाषामा समान्य पाठक देखि विषयगत अध्ययनकर्ताका लागि रुचिकर सिलसिलेवार ढङ्गले प्रस्तुत गरिएको खँदिलो ज्ञानबर्धक किताब हो। ढुङ्गे युगका मानव गतिबिधिबाट बिस्तारै आर्थिक समाजको सृजना कसरी भएको हो भन्ने जानकारी यही पुस्तकबाट हासिल हुन्छ। परिवार, समाज, क्षेत्र हुँदै आ-आफ्ना राज्यमा मानव बसोवास विभक्त भएपछि आर्थिक समृद्धिका लागि भएका अभ्यास, संघर्ष, खिचातानी र क्रान्तिका विविध रुपहरु यस पुस्तकमा समावेश गरिएका छन्। मानव समाजको अर्थ र राजनीतिसँगको अभिन्न सामिप्यता दर्शाउँदै पाठकको ध्यान खिच्न थाल्ने पुस्तकले प्राचीनकाल, कृषि निर्भर अर्थतन्त्र, मध्य युगीन सभ्यता, औद्योगिक क्रान्ति हुँदै आधुनिक बिद्युतिय साइबर संसारको मैदानमा ल्याएर अवतरण गराउँछ। मध्यपूर्व र दक्षिण एसियामा शुरु भएको आर्थिक समुन्नतिको सिको र त्यहाँका स्रोत, साधनकै चलखेलबाट युरोप उकालो लागेको परिघटना चाखलाग्दो तरिकाले लेखिएको छ। अफ्रिकाका बासिन्दाको पश्चिमा मुलुकमा किनबेच र दासत्वको माध्यमबाट श्रमको परिपुर्तिका तौरतरिका छर्लङ्ग पारिएको छ। युग सुहाउँदो आर्थिक क्रान्तिबाट समृद्धिको बाटो समाएका बिभिन्न मुलुकका कथा समावेश छ। लेखनमा प्रयोग सरल भाषा र छोटा वाक्यहरूले सामान्य पाठकको समेत ज्ञानको ढोका उघार्छ। यस्तो सरल र बुझिने गरी पनि निरस बिषयमा पाठकको रुची बढाउन सकिन्छ भन्ने उदाहरणीय लेखाइ छ। पाठ्यपुस्तकमा समावेश गरिए अध्यापक र विद्यार्थी दुवैलाई लाभान्वित गराउने खालको पुस्तक छ । विद्यालय देखि विश्वविद्यालय स्तरका विद्यार्थी र शिक्षकले यो पुस्तकबाट लिनसक्ने धेरै छ। एक अभ्यस्त आख्यानकारले लेखेको कथा जस्तो लाग्ने मिठो र कौतुहलता जगाउने औपन्यासिक लेखनले पाठकलाई तान्छ। पढ्दा कतिपय घटनाका परिदृश्यहरू आँखाभित्र चित्र बनेर आउँछन्। सात अध्यायमा बिभाजित पुस्तकको प्रत्येक अध्यायले इतिहास देखि बर्तमान सम्मका प्रत्येक युगमा पुर्याउँछन्। पढ्नेलाई झमेला नहोस् भनेर लामा लामा अध्याय भित्र बिषय सुहाउँदा शिर्षक र उपशिर्षकको प्रयोग छ। ठिक्कका अनुच्छेदहरू छन्। पुस्तक यस्का या उस्का लागि भनेर छुट्याउन जरुरी छैन। इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, विकास अध्ययन, समाजशास्त्र लगायत सम्पूर्ण बिषयका बिद्यार्थी, शिक्षक र अध्ययनकर्ताका लागि त सन्दर्भ ग्रन्थकै रुपमा लिन सकिन्छ। सामान्य पाठकलाई पनि मानव सभ्यता देखि विकासका अनेक कालखण्डको प्रशस्त ज्ञान दिने हुनाले यो पुस्तक सबैले पढ्नु आवश्यक लाग्दछ। अर्को कुरा, नेपाली बाहेक अन्य भाषाका समेत पाँच दर्जन सन्दर्भ सामग्री समेटेर लेखिएको यो पुस्तक एकैठाउँमा ती धेरै सामग्रीबाट पाउने ज्ञानले पनि भरिएको छ भन्न धक मान्नु पर्दैन। ऐतिहासिक तथ्यका ज्ञानले थप अध्ययनको कौतुहलता र नेपाली अर्थ राजनीतिमा पनि बहस सिर्जना गराउन सक्छ। साधारण तर बुट्टे आवरण आकर्षक हुँदाहुँदै पनि ती बुट्टाले आवरणका साना अक्षरलाई भने किरिङमिरिङ् पारे जस्तो लाग्छ। पुस्तकभित्र प्रयोग भएको कागज बाक्लो भएपनि अलिक खस्रो भएकाले चिल्लो पाना खोज्नेलाई गुणस्तर खस्किएको हो कि जस्तो चाहिँ लाग्न सक्छ। स्याम स्वेत छपाइ रहेको पुस्तकमा प्रयोग भएका ग्राफले कतैकतै चाहेको जति बुझाउन नसके पनि ती डायग्रामको पुष्ट्याइँका लागि अनुच्छेदमा चाहिने जति ब्याख्या गरिएकाले जानकारी पाउनबाट पाठकलाई बन्चित भने गराउँदैन। साना साना कुराहरु पनि उल्लेख गरेर बिषयसँग सामान्य जानकारी समेत नभएका पाठकलाई पनि खिच्ने एकातिरको प्रयासले अर्कातिर कतैकतै लेखाइ लमतन्ने बनाएको छ। बिषय सूचीमा सात अध्यायका शिर्षक मात्र राखिएकोले अध्याय भित्रका उपशिर्षकहरू पनि राखिदिएको भए आवश्यक पर्दा कुनै खास विषयमा मात्र पुन: प्रवेश गर्न चाहनेलाई सजिलो हुने थियो भन्ने लाग्दछ। अर्थै नलाग्ने वा अर्थको अनर्थ लाग्ने त्रुटि नभए पनि भाषागत शुद्धाशुद्धीमा अझै केही काम गर्न बाँकी रहेछ भन्ने ठाँउ ठाँउमा भेटिन्छ। २ सय ७८ पृष्ठको पुस्तकको मुल्य नेपालीमा ५सय ५५ रुपैयाँ राखिएको छ। चाँडै इ-बुक र अनलाइन अर्डर मार्फत विश्वभरका नेपाली पाठकलाई उपलब्ध गराउने कुरा लेखकले जानकारी गराएका छन्। समग्रमा बुक हिल पब्लिकेशनले प्रकाशित गरेर बजारमा ल्याएको ‘विश्व आर्थिक क्रान्ति: सुमेर देखि सिलिकन भ्यालीसम्म’ सस्तो लोकप्रियता र सतही विश्लेषण भन्दा माथि उठेर मेहेनत र धैर्यतामा तैयार समस्त पाठकलाई उपयुक्त एक गहकिलो अभिलेख हो। नेपाली भाषामा लेखिएकाले हाललाई नेपाली पाठकमा लक्षित यो पुस्तक अँग्रेजी अनुवाद गरिएमा विश्वस्तरमा चर्चा गरिने हैसियतको पुस्तक हो।

Leave a Reply