बेनी नगरपालिका-२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएका छन् । सदरमुकाम बेनीबजार नजिक रहेको विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउँदै निकट भविस्यमा मावि तहसम्मको कक्षा सञ्चालन गर्न सुरू गरिएको आर्थिक संकलन अभियानले तिब्रता पाएको छ ।

अधिकांस गरीब तथा विपन्न समुदायका बालबालिका अध्ययनरत विद्यालयका सबै कक्षामा अनिवार्य अंग्रेजी माध्यम तथा प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, शैक्षिक जनशक्ती सहितको ब्यवस्थापनसम्मको लक्ष्य लिएर सुरू गरिएको आर्थिक संकलन अभियानमा हालसम्म २६ जनाबाट १३ लाख ५२ हजार तीन सय ४५ रुपैयाँ सहयोगको प्रतिबद्धता जनाइएको आर्थिक संकलन अभियानका संयोजक कृष्ण थापाले बताउनुभयो ।

उहाँका अनुसार १ करोडभन्दा बढी अक्षयकोष स्थापनासँगै सरकारी तथा विभिन्न निकायबाट समेत भौतिक र शैक्षिक सहयोगका लागि पहल भइरहेको बताउनुभयो । शैक्षिक र भौतिक पूर्वाधारको सुधारसँगै प्राविधिक शिक्षासम्मको लक्ष्य रहेको छ,‘समुदायकै विद्यालय अलपत्र परेपछि सबै एकजुट भएर लागेका छौ’ थापाले भन्नुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत रहनुभएका थापाले मावि तहसँगै प्राविधिक विषयमा समेत अनुमतिका लागि विद्यार्थीको संख्या बढाउने र आर्थिक ब्यवस्थापनमा केन्द्रित भएको बताउनुभयो। स्वदेश तथा विदेशमा गएका बगरफाँटबासी सहित विद्यालयका शिक्षक, कर्मचारीबाट समेत आर्थिक सहयोग भइरहेको छ ।

विद्यालयको अभियानमा स्थानीय एवम् अग्रज पत्रकार धुब्रसागर शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा एक लाख हस्तान्तरण गर्नुभएको प्रअ छेमबहादुर गर्बुजाले जानकारी दिनुभयो । नेपाल सरकारका सेवा निवृत्त सहसचिव मदन थापाले सरस्वती आधारभूतलाई स्तरोन्नति गरेर कृषि क्याम्पसमा रुपान्तरण गर्ने अवधारणा रहेको बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनी बजारका विद्यालयमा विद्यार्थीको चाप बढेकाले नजिक रहेको स्तरोन्नतिको अति आवश्यकता रहेको स्थानीय अगुवा चन्द्रबहादुर घिमिरेले बताउनुभयो । विद्यालयमा विभिन्न स्थानबाट ज्यालामजदुरी गर्न आउनेका बालबालिकाले समेत पठनपाठन गर्ने भएकाले हाल विद्यार्थीको संख्या बढेका छ । बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् ।

 

Leave a Reply