कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ। दोहा शहरबाट करिब सवा सय किलोमिटरको दुरीमा रहेको समालको मजरामा एक कार्यक्रमको आयोजना गरेर मोना कतारले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा वनभोज कार्यक्रमसहित संस्थाले सञ्चालन गरेको चिठ्ठाको नतिजासमेत सार्वजनिक गरिएको थियो ।

मोना कतारका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्व तथा संस्थापक अध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेका थिए । ब्यानर अनावरण, दीप प्रज्वलनसहित केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रसाइलीले सन २००३ मा पार्कमा जम्मा भएर संस्थाको स्थापना गरेको स्मरण गर्दै वनभोज कार्यक्रमले सामिप्यतालाई प्रगाढ बनाउने बताए । उनले मोना कतारले नयाँ नयाँ कार्यहरू गरिरहेकोमा खुसी व्यक्त गरे ।  शुभकामना मन्तव्यकै क्रममा संघका संरक्षक विक्रम कार्कीले मोना अन्तर्राष्ट्रिय स्तरमा फैलिसकेको एक विवादरहित लामो इतिहास बोकेको सामाजिक संस्था भएको र कतारको भूमिका सधैँ उच्च रहने गरेकोमा गर्व गर्नुपर्ने बताए ।

शुभकामना मन्तव्य राख्दै संरक्षक रमेश पौडेलले मोना कतार आफैंमा सफल र सक्षम संस्था रहेको हुँदा आफ्ना गतिविधिले जिल्लामा दरिलो स्थान बनाएको बताए ।  चिठ्ठाको सार्वजनिक गरिएको नतिजा अनुसार सान्त्वना ४ वटा स्मार्ट घडी क्रमशः लीला चोखाल, महेश पौडेल, बारमान राई र लंकेशले जिते । तेस्रो पुरस्कार स्मार्ट फोन तार्पेश चौधरी, दित्तीय पुरस्कार एप्पलको एयरपड जयन्द्र विकले जिते भने पहिलो पुरस्कार रेडमीको नोट ११ फोन नसिवले जिते ।

राम बाबु, ईश्वर लामगाडे, दर्शन केसी, विष्णु परियार, शिवजी परियार, राजन खत्रीलगायतको लाइभ दोहोरीले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । कार्यक्रममा उपस्थित महिलाहरुबीच खेलाइएको नगद १०१ कतारी रियाल पुरस्कार रहेको म्युजिकल चेयर खेलको उपाधि भने फुलमाया तामाङले जितिन् । संघका महासचिव अजय कुँवरले आर्थिक र कार्यप्रगति विवरण पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन पनि कुँवरले नै गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति फगामीले कोरोना महामारीपछिको पहिलो कार्यक्रम भएकोमा खुसी व्यक्त गरे । उनले वनभोज, सांस्कृतिक, चिठ्ठा तथा वार्षिकोत्सव कार्यक्रम एकमुष्ट सम्पन्न गर्न निकै गाह्रो काम भए पनि सबैको हैसला र साथले सम्भव भएको बताए । उनले संस्थालाई सबैको साझा बनाउन आफु लागी परेको बताउँदै संस्थामै आवद्ध हुन र सामाजिक कार्यमा हात मिलाउन आग्रह गरे ।

Leave a Reply