‘बेनीको बजार,
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल…’ 

नेपालको ७३ जिल्ला टेक्ने क्रममा म्याग्दी टेक्ने अवसर पनि मलाई प्राप्त भएको छ । मेरो दुई पटकको भ्रमणको निष्कर्ष हो– म्याग्दीको सदरमुकाम बेनी मलाई निकै मन परेको भूगोल हो ।

म्याग्दी मैले दुईपटक टेकेँ । एकपटक सायद ६९–७० सालतिर र अर्कोपटक ७८ साल माघ महिनामा ।

पहिलोपटक त मैले टेकेको मात्र हुँ । एउटा कार्यक्रमका सन्दर्भमा बागलुङ पुगेको बेलामा स्थानीय साथीहरूसँग बेनी पुगेर एक कप कफी पिएर पुनः बागलुङ फिरेको हुँ ।

दोस्रो पटक २०७८ माघको १७ गते म्याग्दी टेक्ने क्रममा बेनीको सङ्गत गरेको हुँ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको सहजीकरणका सन्दर्भमा म्याग्दीको सिंगासम्म पुगेको हुँ ।

Date: 1965-11-14
Location: Malaj, Myagdi
Description: Beni bazar as seen from Malaj trail. Myagdi river is above the Panchayat compound outside of the village center. Kali Gandaki river flowing from lower right to center left where the Myagdi river joins it.

बेनी अर्थात् म्याग्दीको सदरमुकाम । म्याग्दी र काली गण्डकी नदीको सङ्गमस्थल । पहिलोपटक मैले यहाँ मुस्किलले एक घन्टाजति समय बिताएको थिएँ । त्यसबेला म निकै हतारमा हुँदाहुँदै पनि बेनी गएको थिएँ । हेरेको थिएँ र बेनीलाई अनुभूत गर्ने प्रयत्न गरेको थिएँ । कारण थियो– त्यही गीत, जसको उल्लेख मैले माथि गरेको छु ।

 

मैले आफ्नो बाल्यकालदेखि नै सुनेको गीत हो यो । मलाई निकै मन पर्ने गीत । मैले बेनी देखेको थिइनँ । तर यो गीतको लवज, शैली र स्वरले मलाई निकै आकर्षित गर्ने गरेको थियो ।

बेनीसँगको मेरो पुरानो सम्बन्ध छ जस्तो अनुभूत मलाई पटकपटक भएको हो । अहिले पनि छ । अनायास मेरो मुखमा यो गीतका हरफहरू झुन्डिन्छन् र म गुनगुनाउन थाल्छु,

बेनीको बजार…

मेरा लागि यति महत्वपूर्ण गीतमा उल्लेख गरिएको बेनी यति नजिकै हुँदा पनि त्यहाँ कसरी नपुग्ने ? मलाई पहिलोपटक यही हुटहुटीले बेनी पुर्‍याएको हो भन्दा फरक पर्दैन ।

अलि पुरानो पनि भयो क्यारे, मैले पहिलोपटकको संस्मरणको टिपोट गरिनँ । तर अहिले आएर बेनीको पहिलो भ्रमणको स्मरण गर्दा वर्तमानसँग तारतम्य मिलाउन निकै कठिन भएको स्वीकार्दा मलाई आपत्ति छैन । खैर, यसका बारेमा अहिले चर्चा नगरी बेनीकै बारेमा केन्द्रित हुनु उपयुक्त हुन्छ ।

माथि उल्लेख गरिएको चर्चित गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने बेनी बजार म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थलमा अवस्थित छ ।

बेनी बजार प्राकृतिक सुन्दरताले मात्रै होइन, ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण छ । तुलनात्मकरूपमा बेनीको बस्ती नयाँ हो । इतिहासकारहरूका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म यहाँ बस्ती थिएन ।

१८४३ सालपछि मात्र यहाँ बस्ती बस्न थालेको मानिन्छ । बेनीमा मानव बस्तीको विकास कहिलेदेखि भयो यो अलग कुरा हो । तर सत्य के हो भने नेपालको राजनीतिक इतिहासमा यस ठाउँको सदासर्वदा सामरिक महत्व छ ।

तत्कालीन समयमा बेनी बजार भोट तिब्बत र मधेसको प्रमुख व्यापारिक केन्दमात्र थिएन, बरु भोट उक्लने महत्वपूर्ण नाका पनि थियो । यही नाका पछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको स्थानीय जानकारहरूले बताउने गरेका छन् ।

इतिहासकारहरूका अनुसार बेनी बजार पहिला पर्वत राज्यअन्तर्गत थियो । मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको उल्लेख छ ।

यस्तै इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठाना र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्दै इतिहासकार बानियाँ भन्छन्– यसको अर्को महत्व पनि छ ।

बानियाँका अनुसार ढोलठाना दरबारले दुई नदीको दोभानमा अवस्थित सिँचाइका लागि उपयुक्त बेनीमा खेतीको पनि प्रारम्भ गरेको थियो । बानियाँ यसको प्रमाणका रूपमा यहाँका राजकुलोहरूलाई प्रस्तुत गर्छन् । उनका अनुसार राजकुलोको निर्माण गरेर दरबारले नै यहाँ खेती गर्न थालेको हो ।

पर्वत राज्यको इतिहासबारे जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती फलाम र आरनको काम गर्नेहरूको हो । बानियाँका अनुसार हतियार निर्माणका लागि उनीहरूलाई बेनीमा राखिएको हो ।

Adv

गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । बानियाँ बेलिबिस्तार लगाउँदै भन्छन्– दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

मल्ल र बानियाँ दुवैजना एउटा कुरामा सहमत छन् । त्यो के भने– विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्य बजार पारीबेनी थियो ।

बेनीमा स्कुल पाठशाला नखुल्दै पारीबेनीमा मिडिल स्कुल थियो । त्यही मिडिल स्कुल पछि मल्लाज स्थानान्तरण भएको हो । पारीबेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुने क्रम बढ्दै गएको हो ।

इतिहास जेसुकै होस्, वर्तमानको एउटा अकाट्य सत्य के हो भने बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीमात्र होइन, मुस्ताङको समेत प्रवेशद्वार मानिने आकारमा सानो बेनी बजार म्याग्दी र कालीगण्डकी नदीका कारण सङ्कटाभिमुख अवस्थामा पुगेको छ ।

यसक्रममा २०७६ साल असारको अन्तिम सातामा बेनीले बेहोरेको त्रासदीलाई स्मरण गर्नु जरुरी छ । दुई नदीको सङ्गमस्थलमा बसेको यो सानो बजार यही दुई नदीमा आएको बाढीका कारण नकै ठूलो समस्यामा पर्‍यो ।

स्थानीयका अनुसार भगवान मुक्तिनाथ र गलेश्वरको कृपाका कारण बेनीमा ठूलो क्षति हुन पाएन । तर एउटा कुरा मान्नैपर्छ– म्याग्दी र कालीगण्डकीको लगातार कटानका कारण बेनीको बस्ती जोखिममा छ । तर बाध्यता के छ भने बस्ती स्थानान्तरणका लागि उपयुक्त विकल्प र पहल दुवै छैन ।

माथि भनिएजस्तै सानो आकारको यो बजारमा अब बस्ती विस्तारको सम्भावना पनि छैन । पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सिमानामा अवस्थित म्याग्दीको सदरमुकाम बेनीको विस्तार अन्यत्र हुन सक्ने सम्भावना कम छ । यसको मूल कारण हो– बेनी भूगोलमात्र होइन । यो बजारमात्र पनि होइन र यो सामान्य बस्ती पनि होइन । यी सबैसँगै जोडिएको छ बेनी अर्थात म्याग्दीको इतिहास, सभ्यता र संस्कृति ।

बेनीका दुई–चार पसल पारि पर्वत र बागलुङतर्फ सरे पनि बेनीको चिनारी सर्न सक्दैन । बेनीको परिचय र पहिचान पारिपट्टि जान सक्दैन । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ गीतको मौलिकता त बेनीसँगै सधैँ सम्बन्धित रहने छ । यो अपरिवर्तनीय छ र रहने छ ।

लेखक: पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ ।

अहिले बजारको स्वरूप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य संरचना ठडिएका छन् । स्थानीयका अनुसार अति महँगोमध्येको बजार बन्न पुगेको छ बेनी । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेक्रम तीव्ररूपमा बढेको छ ।

गाउँ खाली हुँदा बजार भरिन पुगेको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ । बेनीमा परिवर्तन त २०७६ को बाढीपछि पनि देखापरेको छ ।

म पहिलोपटक बाढीभन्दा पहिले र दोस्रोपटक बाढीपछि बेनी पुगेको हुँ । त्यसो त बेनीमा देखिएका भौतिक परिवर्तन समयसँगै आएका परिवर्तन पनि हुन सक्छन् । तर मलाई लाग्छ, बेनी बजारमा देखिएको पछिल्लो भौतिक परिवर्तनमा बाढीको त्रासदीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

मेरा हकमा एउटा अर्को कुरा पनि सत्य हो । त्यो के भने– मैले पहिलोपटक त बेनीमा धेरै समय बिताउन पाएको थिइनँ नै दोस्रो पटक पनि यहाँ धेरै समय बिताउन पाइनँ । दोस्रो पटक, म सिंगा तातोपानी जाने क्रमको साक्षीमात्र बन्यो बेनी ।

बेनी तिमीसँगको यो दुवैपटकको छोटो भेटले मेरो चित्त बुझेको छैन । एकपटक अलि धेरै समय बिताएर तिमीसँग जाले रुमाल अगाडि राखेर मायालु नजर मिलाएर लामै बात मार्ने रहर छ । हेरौँ कहिले जुर्छ !

Adv

Leave a Reply