यहाँको एक विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयले २७ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा अवस्थित महेन्द्ररत्न माविको छात्रवास भवन निर्माणमा समुदाय एकजुट भएर आर्थिक जुटाउन सफल भएका हुन् । बि.स २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरी स्वदेश तथा विदेशमा अभियान सञ्चालन गरी २७ लाख ३५ हजार ४५४ रुपैयाँ संकलन भएको विद्यालयका प्रअ कृष्णलाल सापकोटाले बताउनुभयो ।

आर्थिक संकलन अभियानमा जोडिएका देश विदेशमा रहेका बरंजाबासीहरु, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको प्रअ सापकोटाले बताउनुभयो । संकलित रकमबाट स्थानीय गंगा बहादुर बुढाथोकीको करिव चार रोपनी जग्गा पच्चिस लाख रुपैयाँमा खरिद गरिएको छ ।

उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा म्याग्दीको सत्तरी लाख रपैयाँ लागतमा दुइतले चार कोठे छात्रवास भवन निर्माण गत बर्ष सम्पन्न भएको छ भने प्रदेश सरकारको ५० लाख सहयोगमा छात्र र छात्रा गरी करिव एकसय जनाको क्षमता रहने नयाँ भवन निर्माण कार्य पनि सुरु गरिएको विद्यालयले जनाएको छ । अभियानबाट हाल सम्म ३२ लाख १२ हजार ४५४ रुपैयाँ संकलन भएकोमा जग्गा खरिद सहित विभिन्न प्रयोजनमा करिव सत्ताईस लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले बताउनुभयो ।

सम्मान कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानि गरेको तर लगानी अनुसारको प्रतिफल पाप्त हुन नसकेको बताउनुभयो । उहाँले महेन्द्र रत्न माविको भौतिक संरचनामा अझै कमि देखिएकाले कक्षाकोठा भवन, शौचालय निर्माण लगाएतमा आवश्यक वजेटको समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले विभिन्न योजनाहरुको मागपत्र मन्त्रालयको वेभसाइटमा राखिने भएकाले सूचना र प्रविधि संग अपडेट भईराख्न पनि बिद्यालयलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा मंगला ३ वरंजाका वडा अध्यक्ष कविन्द्र रोकाले महेन्द्र रत्न माविले शिक्षामा अग्रणी स्थान हाँसिल गरेको बताउनुभयो । छात्रवास निर्माण गर्ने विद्यालयको परिकल्पना साकार हुनुमा समुदायको महत्वपूर्ण साथ रहेको भन्दै रोकाले गुणस्तरीय शिक्षा प्रदान गरि उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादन गर्न बिद्यालयको जिम्मेवारी हुने बिचार व्यक्त गर्नुभयो । उहाँले बरंजाकै धापुङ, महेश, दुर्दी, झाँक्रिपानी लगायतका स्थानबाट करिव डेढ घण्टा लगाएर बिद्यालय आउने बिद्यार्थीलाई छात्रवास बनेपछि सहज हुने अपेक्षा समेत गर्नुभयो ।

मंगला गाउँपालिका शिक्षा संयोजक डेकबहादुर बानियाँले पाँच कक्षा सम्म पढाई हुने र पचास जना बिद्यार्थी भएको बिद्यालयमा शिक्षा नियमावली अनुसार दुई जना शिक्षका दरवन्दी भएकाले त्यस्ता बिद्यालयहरुमा गाउँपालिकाले दरवन्दीको व्यवस्था गरी शिक्षक उपलव्ध गराएकाले भन्दै शिक्षा नियमावलि नै परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष श्याम बहादुर थापाको स्वागत र शिक्षक डम्मरराज सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply