म्याग्दीको बेनी नगरपालिका-३,भकिम्ली राखु गाउँकी मनकुमारी पुनले यस बर्ष सुन्तला बिक्रीबाट २१ लाख आम्दानी गरिन्। विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गदै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो गर्न सफल भईन् ।

निर्वाचित वडा सदस्य एवम् अगुवा कृषक पुनले सिजनमा आफ्नो र स्थानीय कृषकको बगैचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाएर आफै बजारमा बिक्री गरिन् ।सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले न्यूनतम२० हजारदेखि ६ लाखसम्मको सुन्तला बिक्री गरी एक करोड भित्राएका छन् ।

पुनसँगै राखुमा कुलबहादुर गर्बुजा,जशिकला रोका,भिमकुमारी घर्ती,खिरमति राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्छन् । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका भकिम्लीका विभिन्न गाउँबाट करिब डेढ करोडको सुन्तला निर्यात भएको छ ।

राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैंचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले बताए। मरेकबाट पदम बहादुर खत्री,कर्णकुमारी पुर्जा,जमुना थापा, बिरबहादुर थापा, पदम बहादुर थापा, बलबहादुर पुन र धनबहादुर पुन लगायत रहेका छन् ।

त्यस्तै हल्लेगौडा,पानीस्वाँरा,ज्यामिरे र चिनखेत क्षेत्रबाट होमबहादुर रोका, रत्नकली छन्त्याल,लोकबहादुर छन्त्याल,काशिराम छन्त्याल,प्रेम थापा,मनविर सुनार, हरिकला छन्त्याल,छविलाल छन्त्याल, पानीस्वाँरा कर्णबहादुर घर्ती,थासाराम सुबेदी,केशव निउरे, प्रतिकला राना लगायतका कृषकले करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय यूवा कृषक होम रोका मगरले बताए ।

सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै रोपिएको कृषकको भनाइ छ । १० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तलाजात फलफुल खेतीमा आर्कषित भकिम्लीबासीले हरेक बर्ष उत्पादनमा बृद्धि गरेका छन् ।

‘अबको केहीबर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ,‘व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै ध्यान छ’ मरेकका अगुवा कृषक इन्द्रबहादुर थापाले भने । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधादशकमा अनुकल मौषम भएमा तेब्बर उत्पादन हुने बताए ।

केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यसबर्ष उत्पादनमा सुधार आएको छ । ‘सिंगो वडा नै सुन्तला खेतीमा आर्कषित भएको छ,‘अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौ’ वडा अध्यक्ष पदम पुनले भने ।

उनले हरेक बर्ष नयाँ विरुवा वितरण, कृषि ज्ञान केन्द्र सहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाईमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्षेनी लाखौं खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ ।

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । पछिल्लो समय विदेश गएर फर्किएका यूवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाई छ।

जिल्लाका ६ वटै स्थानीय तहको ३ सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २१ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा बार्षिक १७ करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।

Leave a Reply