म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारको विरेन्द्रचोक स्थित जिल्ला प्रशासन कार्यालय अगाडी छ होटल रोजिना एण्ड रेष्टुरेन्ट । दुई दशकदेखि यो होटल संचालन गर्दै आउनुभएकी सृजना भट्टचनको चारतले घरका १२ वटा कोठाहरु जहिले पनि पाहुनाहरुले खचाखच भरिएका हुन्छन् । होटलका कोठाहरु मात्रै होइन काउण्टरदेखि लिएर छतसम्म खाली ठाउँ भेटिदैन उहाँको होटलमा । उमेरले चार दशक पार गरेकी फरासिली भट्टचनलाई कहिल्यै पनि फुर्सद हुँदैन ।

काउण्टरको सोकेस र ¥याकैभरी लप्सीको अचारले भरिएका सिसी, कुर्सीमा खाना,खाजा खाँदै गरेका पाहुनाहरु,कोठाको छेउमा रहेका टेबुलमाथि नाङ्लै भरी मिलाएर राखिएका स्थानीय जातका कुखुराका अण्डा,भ¥याङमा राखिएका गमलामा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूल,छतै भरी स्थानीय जातका कुखुरा र कौसीमा तरकारी, होटल रोजिनामा पस्ने जोकोहीले देख्ने दृश्य हुन् यी ।

“जाँगर चलाउने हो भने सबै कुरा गर्न सकिदोरहेछ” सृजनाले भन्नुभयो “खाली बस्न मनै लाग्दैन,केही न केही नगरी बस्नै सक्दिन,त्यसैले कहिले अचार बनाउँछु, छतमा स्थानीय जातका कुखुरा पालेकी छु,ग्राहाकलाई लोकल कुखुराको मासुसंग खाना खुवाउँछु ।अण्डा पनि लोकल नै विक्रि गर्छु । कौसीमा तरकारी रोप्छु । ग्राहाकलाई खाना र खाजा बनाउँछु । दिन वितेको र रात छिप्पिएको पत्ता नै हुँदैन ।” सृजनाको होटलमा पाहुना कहिल्यै खाली हुँदैनन् ।

उसो त थकाली भान्छा सबैलाई मीठो लाग्छ । त्यसमा पनि पाक कलामा निपूर्ण सृजनाले आफ्नो होटलमा आउने पाहुनालाई आत्मिय आतिथ्यता सहित स्थानीय उत्पादनका मीठा परिकार बनाएर खुवाउने भएकाले उहाँको होटल बेनी बजारकै चल्तीको होटलमा गनिन्छ ।  उहाँले अर्गानिक सामान समेत बेच्नुहुन्छ । घरमा उत्पादित बस्तु पोखरा, काठमाण्डौ लगायतका स्थानमा समेत जाने गरेको छ ।

रोजिना होटल केवल होटलमा मात्रै सीमित छैन । झट्ट हेर्दा कुनै संग्रहालय जस्तो लाग्ने यस होटलमा थकाली जनजीवनका विविध पक्षहरु समेटिएका चित्र,फोटा र हस्तकलाका सामाग्रीहरु सजाएर राखिएको छ । “दुई वर्ष अघि ‘अरिङ्गलवाली’ का नाउँले सामाजिक संजालभरी छाउनुभयो । कहिले अरिङ्गालका परिकार बनाएर आफ्नो होटलमा ग्राहाकहरुको ध्यान खिच्नुहुन्छ भने कहिले स्थानीय जातका परिकारका तस्वीरहरु फेसबुकमा राखेर ग्राहाकलाई मुख मिठ्याउने बनाइदिनुहुन्छ” एक ग्राहकले भने ।

आफ्नो व्यापार विस्तारमा सामाजिक संजालको पनि महत्वपूर्ण भूमिका रहेको भट्टचन स्विकार गर्नुहुन्छ। “मैले जे बनाउँछु सामाजिक संजाल (फेसबुक) मा पोष्ट गरिहाल्छु । त्यो हेर्ने वित्तिकै ग्राहाकहरुको अर्डर आउन सुरु भैहाल्छ” भट्टचनले भन्नुभयो “परार साल अरिंगालले धुम मच्चायो,अहिले लोकल कुखुरा र अण्डाको अर्डर पु¥याउन धौधौ भएको छ ।” यतिका सीप भएकी जाँगरिली भट्टचनको दैनिक कमाइ पनि आकर्षक नहुने कुरै भएन ।

होटल,रेष्टुरेन्ट,अचार,कुखुरा,अण्डा सबैबाट उहाँलाई राम्रो आम्दानी हुन्छ । अझ त्यसमाथि सिजन सिजनका स्थानीय परिकार विक्रिबाट हुने आम्दानी त अलग्गै भयो । सरदर दैनिक रु १० हजारको हाराहारीमा व्यापार हुने गरेको बताउने भट्टचनको सादगीपना देख्दा जोकोहीले यतिधेरै आम्दानी गर्ने महिला होलिन् यी भनेर पत्याउनै सक्दैन । तर उहाँलाई चिनेकाहरु भने भट्टचनको व्यवसायिक खुवी देखेर दंग पर्ने गर्दछन् ।

Leave a Reply