उपचारको क्रममा एक बिरामीको मृत्यु भएको विषयमा विवाद भएपछि असुरक्षित भएको भन्दै बेनी अस्पतालका चिकित्सक सहितको टोलीले सुरक्षाा माग्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

पर्वतको जललजा गाउँपालिका–३,मल्लाजकी २९ बर्षिया पुष्पा श्रेष्ठको बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएपछि ब्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले मृतकका आफन्तको पक्षमा लिएर मेडिकल सुपरिटेण्डेन्ट डा.जितेन्द्र कंडेल सहित उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई धम्की दिएको भन्दै डा.कंडेलले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी गरेका हुन् ।

बिरामीको मृत्युभएसँगै हालै कार्यभार सम्हालेको ब्यवस्थापन समिति र चिकित्सक सहितको स्वास्थ्यकर्मीको दुरी बढेको छ । चिकित्सकको टोलीले सार्वजनिक रुपमा अपशब्द प्रयोग गरेकाले कानुनी बाटोमा गएको बताइरहेका छन् भने ब्यवस्थापन समितिका सदस्य विज्ञानराज शर्माले उपचारको क्रममा भएको लापरवाहीका बारेमा बोलेपछि अनावश्यक विवाद निकालिएको बताए ।

अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापन समिति सदस्यको विवाद प्रशासन र प्रहरीमा पुगेपछि दुबै पक्षले आफ्नो–आफ्नो तर्क गरेका छन् । ‘समितिकै सदस्यबाट सार्वजनिक रुपमा हामीमाथि भएको अपमानलाई सहजै स्वीर्कान सकिएन्,‘यस्तो घटनाले अब उपचारमा चिकित्सक र स्वास्यकर्मी नै त्रासमा बस्नुपर्ने भएको छ,‘हामीले सुरक्षाको माग र दोषीलाई कारवाहीका लागि प्रशासनसम्म पुगेका छौ’ डा.कँडेलले भने ।

उनले उपचारको क्रममा मृत्यु भएका बिरामीका आफन्तले उपचार विधिका बारेमा सन्तुष्ट भएपछिको अवस्थामा सञ्चालक समिति सदस्यबाटै प्रत्यक्ष र सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषामा स्टाटस लेखेपछि स्वास्थ्यकर्मीले समेत असुरक्षित महसुस गरेको बताए ।

उनले मृतक बिरामीलाई आफ्नो नेतृत्वमा चार जना मेडिकल अफिसर र कन्सल्टेन्ट डाक्टरसमेतको संलग्नतामा उपचार गरिएको बताए ।‘यो आन्दोलन होईन्, भोलीका दिनमा अस्पतालमा सेवा प्रवाहमा सहज हुने वातावरण बनाउन गरिएको कदम हो,‘हाम्रो बिरुद्धमा भइरहेका गतिविधिले नै कार्यक्षेत्रमा प्रवेश गर्न असुरक्षीत भएको छ’डा.कँडेलले भने ।

यता गण्डकी बेनी अस्पताल ब्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले उपचारको क्रममा भएको लापरवाहीका बारेमा सचेत बनाएको बताए ।उनले चिकित्सक, स्वास्थ्यकर्मीको मनोमानी बिरुद्ध बोल्नै नपाईने कुनै नियम नभएकाले गल्तीकमजोरीका बारेमा बोलेको बताए ।

‘मेरो बस्तीबाट आएका पीडितका बारेमा बोल्दा धेरै अतिरञ्जित गरियो,‘आफ्नो क्षेत्रबाट आउँदा समस्याको सहजीकरण पनि गर्नुपर्छ’ प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नेकपा एसको कोटाबाट नियुक्त भएका शर्माले भने । उनले विगतमा समेत छिमेकी पर्वतको जललजा गाउँपालिकाबाट आउने बिरामीको उपचार तथा पोस्टमार्टका बिषयमा हुने गरेको बताउँदै जलजलाबासी अन्यायमा परेको देखेर नै बोलेको बताए ।

‘मेरो कमजोरी भए सच्चाउन तयार छु,‘यहाँ आफ्नो जिम्मेबारीभन्दा बाहिर गएर गरिएका गतिविधि नै समस्याको प्रमुख कारण हो’ शर्माले भने ।

उनले आफ्नो ब्यक्तिगत दुस्मनी केही नभएकाले बताउँदै अनावश्यक दवाव, हस्तक्षेपलाई स्वीकार गर्न नसकिने बताए । विरामीको उपचार हिष्ट्री नबुझी उपचार पद्धतीमा गरिएको कमजोरीका बारेमा बोल्दा आफ्नो पदीय जिम्मेबारीबाट केही कमजोरी भए सच्चाउन तयार रहेको बताए ।

चिकित्सक, स्वास्थ्यकर्मी र समितिका सदस्यको विवाद समाधानतर्फ उन्मुख नभई दुरी बढ्दा अवस्था झन जटिल बनेको भन्दै सरोकारवाला निकायले समेत चिन्ता ब्यक्त गरेका छन् ।

यता अस्पतालको समस्या समाधान गर्न सत्ता गठबन्धन भित्र अनौपचारिक रुपमा मध्यमार्गको खोजी समेत भइरहेको छ । राजनीतिक नियुक्ती भएकाले समस्याको समाधानमा ब्यवस्थापन समितिलाई सघाउने तथा अन्य विविध पक्षका बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

घटना लगत्तै विभिन्न शैलीका फोन तथा दवावका कारणका बारेमा समेत समिक्षा गरिएको र थप परिस्थितीलाई जटिल हुन नदिने गरी अगाडी बढ्ने प्रयास भइरहेको छलफलमा सहभागी एक सदस्यले बताए ।

सेवा प्रभावित हुन नदिन सचेत र जिम्मेवार छौ– अध्यक्ष सुवेदी

बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।

पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिबीच बिवाद बढेको र त्यसको असर सेवा प्रवाहमा परेको भन्ने विषयमा राखिएको जिज्ञाशाप्रति अध्यक्ष सुवेदीले यस्तो प्रतिक्रिया जनाए । ‘घटनाको बिषयमा सम्बन्धित परिवार र अस्पताल बिच समिक्षा तथा सहमति भैसकेको छ’ अध्यक्ष सुबेदीले भने ।

उनले एउटै घटनालाई जोडेर बेनी अस्पताल, चिकित्सक र व्यवस्थापन समितिका बिषयमा फैलाइएका भ्रमको पछि नलाग्न अनुरोध गर्दै नियमित रुपमा सेवा प्रवाह भैरहेको बताए । ‘बिरामीले उपचार नपाए जिल्लाकै प्रतिष्ठामा असर गर्छ,‘सहज रुपमा दिइने सेवामा कुनै कमजोरी हुदैन’ अध्यक्ष सुबेदीले भने ।

ब्यवस्थापन समिति र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबीच भएको छलफलमा सदस्य शर्माले गल्ती स्विकार र आत्मआलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस हटाएको र समितिको बैठकमा समेत थप छलफल गरिने बताए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु पछिल्लो समय शर्मालाई सदस्यबाट हटाउनुपर्ने माग राखेपनि राजनीतिक नियुक्ती भएकाले व्यवस्थापन समितिलाई राजनीतिक नियुक्ती भएका सदस्यलाई हटाउने अधिकार नभएको अध्यक्ष सुबेदीको भनाई छ । समस्या बढाउने भन्दा पनि समाधान गर्नेतर्फ सबैको सकारात्मक भूमिका आवश्यक रहेको उनले बताए ।

 

 

Leave a Reply