म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले आजदेखि तोरन्ल पर्व अर्थात यस वर्षको (फागु पूर्णिमा) मनाउन थालेका छन् । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो ।

तोरन्ल पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पित्रृको उद्धार र समुदायको एकतामा तोरन्ल पर्वको महत्वपूर्ण भूमिका रहेको बताए । उनले म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि म्याग्दीको नाम राष्ट्रिय स्तरमा पु¥याउन सफल भएको बताए ।

पर्वको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना लगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न जातिय संस्थाका प्रतिनिधिले परम्परागत रुपमा चल्दै आएको यस पर्वको संरक्षण र प्रर्वधनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

पर्वको अवसरमा बेनीमा थकाली समुदायले तारो हान्ने खेल, भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्राद्ध गर्ने गर्दछन् ।

त्यसैगरी थकाली समुदायले पनि फागु पूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले जनाएको छ । यस पर्वमा थकाली समुदायले आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताए ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै ३ सय घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ ।

यसैगरी नेपालमा १९ क्षेत्र तथा जापान र बेलायतमा एक–एक क्षेत्र रहेको थकाली सेवा समितिले जानकारी दिएको छ । आदिवासी जनजातिभित्र पनि थोरै सङ्ख्यामा थकाली समुदाय रहेका छन् ।यस पर्वको अवसरमा थकाली समुदायको अभिन्न अङ्ग मानिने तारो हान्ने खेल (धनुषवाण) आयोजना गरिएको छ ।

आउँदो तीन दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर तोरन्ल पर्व मनाइने थकाली सेवा समिति बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनले बताए । पाँचवटा पर्व मनाउने थकाली समुदायमा सबैभन्दा प्रमुख चाड तोरन्ल पर्वलाई मानिएको छ । सबैसँग मिलेर बस्न सक्ने, सरसफाइमा ध्यान दिने र मीठोमीठो खानाका साथै परिकारहरु बनाउने विशेषता थकाली समुदायसँग रहेको छ । ‘खाना मीठो थकाली’को भन्ने भनाइ पनि सुन्नमा पाइन्छ ।

 

 

Leave a Reply