बेनी नगरपालिका-५,गाजनेको धुरीमा अवस्थित पर्यटकीय स्थल केभहिलमा क्रियटिप मञ्च म्याग्दीले प्रचार–प्रसार गर्ने उदेश्यले बोर्ड अनावरण गरेको छ । होली पर्वको अवसरमा बिहिबार मञ्चद्धारा आयोजित एक कार्यक्रमका बिच जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामवहादुर बानियाँ र स्थानीय निलकण्ठ शर्माले अनारवण गरेका थिए ।

‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध भएकाले थप प्रचारप्रसारमा सहज हुने गरी बोर्ड राखिएको मञ्चका अध्यक्ष विबेक ठकुरीले बताए ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत प्रशिद्ध रहेको जगन्नाथ मन्दिरका अध्यक्ष बानियाँले बताए ।

उनले लालीगुराँससँगै धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने भएकाले समेत सबै क्षेत्रबाट सहयोग आवश्यकता रहेको बताए।  समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको “कहिले राजा बेनी बाग्लुङ्ग, कहिले राजा ढोर ”भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि भन्न सकिन्छ । जिल्लाका पर्यटकीयस्थलमा बोर्ड अनावरण गरिएपनि अन्य पर्यटन प्रर्बधनका कार्यक्रमहरु भने खासै हुने गरेका छैनन् ।

Leave a Reply