जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो । परीक्षणका लागि दुई वर्षअघि हरियाली समूहले भित्र्याएको यो प्रविधि जिल्लाका अन्य कृषकले पनि अपनाउन थालेका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौरको हराभरा कृषि फार्मका सञ्चालक निरबहादुर थापाले पानीपानीले धेरै ठाउँमा थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको बताए । “ट्याङ्कीमा सङ्कलन गरिने पानीलाई पाइपबाट बिरुवाको जराजरामा पु¥याउँदा ९० प्रतिशत पानीको सदुपयोग हुन्छ,” उनले भने “बिरुवालाई आवश्यक पर्ने तत्व पानीमा मिसाएर पाइपबाट बिरुवालाई दिन सकिन्छ ।”
अनावश्यक ठाउँमा पानी नजाँदा झारपात नआउने, मल सबै बालीले मात्र उपयोग गर्न पाउने, झारपात गोडमेल गर्दा हुने समयको बचत भएको थापाले बताए । उनले गत वर्ष कृषि ज्ञान केन्द्र म्याग्दीको अनुदान सहयोगमा पाँच रोपनी जमिनमा थोपा सिँचाइ र मल्चिङ प्रविधिबाट तरकारी खेती गरेका थिए ।
२० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका थापाले जमिनमा प्लास्टिकले छोपेर गरिने मल्चिङ प्रविधिले झारपात उम्रन नदिने, मल नड्ढ्ने, तापक्रम सन्तुलित हुने, बिरुवा छिटो हुर्कने, बढ्ने र उत्पादन बढेको अनुभव सुनाए । मल्चिङ र थोपा सिँचाइ प्रविधिका लागि कृषि ज्ञान केन्द्रले थापाको फार्मलाई गत वर्ष खुल्ला जमिनमा प्राङ्गारिक खेती कार्यक्रममार्फत रु एक लाख अनुदान दिएको थियो ।
बेनी –४ सिङ्गामा हरियाली समूहले सञ्चालन गरेको कृषि फार्मको तरकारी खेतीमा दुई वर्षअघि थोपा र मल्चिङ प्रविधि भित्र्याएका थिए । बेनी नगरपालिका–५ डडुवाका कृषकले पनि प्लास्टिक घरभित्र गोलभेँडा खेती गर्न थोपा सिँचाइ प्रविधि अपनाएका छन् ।
परम्परागतको तुलनामा थोपा सिँचाइबाट दसदेखि बीस प्रतिशत उत्पादन बढाउन सकिएको डडुवाका कृषक प्रेम भण्डारीले बताए । गोलभेँडा, काउली, बन्दा, ब्रोकाउली, घिरौंला, सिमी, करेलालगायत लहरेबालीका लागि थोपा सिँचाइ प्रभावकारी हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।
“गत वर्ष रत्नेचौर र हिदीमा गरिएको थोपा र मल्चिङ प्रविधि प्रभावकारी देखिएपछि विस्तार हुन थालेको छ,” उनले बताए “नयाँ प्रविधिको विकास र विस्तारमा कार्यालयले प्राथमिकता दिएको छ ।” रासस