बागलुङका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।

खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ । बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जान्छन् । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ ।

बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भोकाउछिन् । दिउँसोको खाजा खाने खर्च नहुँदा दिउँसो १ बजे नै घर फर्किने गरेकी काजल आजभोलि साँझ ५ बजे मात्रै घर पुग्छीन् । कारण विद्यालयमा नै उनको रुचिअनुसारकै खाजा खान पाइन्छ । सबै समय पढेर घर फर्किंदा पनि उनी भोकाउनु पर्दैन । यसअघि उनको पढाइ राम्रो चलेको थिएन । उनी मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य हुन्थीन् । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो ।

यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक रु ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरु विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताए । ‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरुलाई खाजा चाहिएको थियो”, उनले भने, “यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।” विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उनले बताए ।

यसरी खाजाको पात्रो बनाउँदा एकरुपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताए । “कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,” उनले भने, “अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।” अभिभावकलाई नगद दिँदा खर्च गरेर सक्ने भएकाले विद्यालयले खाजाको सामान खरिद गरेर बाँडेर दिने गरेको हो । यो पद्धतिले अभिभावकले जथाभावी खर्च गर्न पनि नपाएको उनले अनुभव सुनाए ।

विद्यालयले सबै बालबालिकाको घरमा आइतबारदेखि शुक्रबारसम्म खाने खाजाको पात्रो बाँडेको छ । आइतबार तरकारी र अण्डा, सोमबार हलुवा, मङ्गलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटीतरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो १ः३० देखि २ बजेको समय खाजाको बढी तोकिएको गौतमले बताए । यो समय बालबालिकाहरु मिलेर खाजा खाने गरेका छन् । खाजाले बालबालिकालाई मिलेर खाने बानीको समेत विकास गरेको उनले बताए । केही समयअघि स्थानीय होमस्टेलाई खाजा बनाउने जिम्मा दिइएको थियो । तर कोरोना सङ्क्रमणका कारण हरेकले आफ्नै घरबाट खाजा बनाएर ल्याउने नियम चलेको हो ।

Adv

Leave a Reply