म्याग्दीमा साढे ६ सयभन्दा बढी म्यादी प्रहरी भर्ना गरिने भएको छ । स्थानिय तह निर्वाचन- २०७९ को लागि जिल्लाका ६ वटै स्थानीय तहमा खटिने गरी ६ सय ५३ जना म्यादी प्रहरी भर्नाका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त छनोटका मापदण्ड समेत निर्धारण गरिएकाले अर्को सातादेखि भर्ना अभियान सुरु हुने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बेनीअनलाइनलाई बताउनुभयो।‘सूचना प्रकाशित भइसकेको छ,‘फारम वितरणपछि छनौट प्रक्रिया सुरु हुन्छ’ प्रनाउ राईले भन्नुभयो । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दरखास्त दिन मिल्ने जनाइएको छ ।

मापदण्डमा पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव भएकालाई प्राथमिकता दिने उल्लेख छ ।पूर्व सुरक्षाकर्मीलाई तालिम तथा अन्य प्रक्रियामा समेत सहज हुने भएकाले प्राथमिकता दिइएको जनाइएको छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् ।४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया अन्तरगत चैत्र ६ गतेदेखि ११ गतेसम्म फारम वितरण, १५ गतेदेखि २२ गतेसम्म छनौट र चैत्र २८ गतेदेखि तालिम सञ्चालन गरिने जनाएको छ ।

 

Leave a Reply