धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्काे भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए । “गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो”, उनले भने, “कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपरेको हो ।”

भिरालो पाखो सम्याएर फरक-फरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताइन् । “चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ”, उनले भनिन्, “भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ ।” विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी छन् ।

Leave a Reply