नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने दावी गरे । उनले अहिले अदालतबाट बनेको वर्तमान देउवा नेतृत्वको सरकारले जनविरोधी कामहरु गरेको आरोप लगाउँदै एमालेले पाँचदलीय गठबन्धनलाई चुनावबाट पराजित बनाएर देखाइदिने चेतावनी समेत दिए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लाको सुचीमा सूचीकृत गर्नुका साथै विभिन्न स्थानमा विद्यालयलगायत भवनहरु तथा झोलुङ्गे र मोटरेबल पुल निर्माण, सडक विस्तार तथा स्तरोन्नतिसहित थुप्रै कामहरु गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी. र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले एमालेले देश विकास र जनमुखी काम गरेको बताएका थिए ।

नेकपा एमाले बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसीको अध्यक्षता, सचिव सुवास विश्वकर्माको सञ्चालन र उपसचिव लक्ष्मण कटुवालको स्वागतमा सम्पन्न कार्यक्रममा एमालेको गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, कुमार किसान र प्रमोद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय राजनीति तथा पार्टीले अवलम्बन गरेका नीतिका विषयमा भूपेन्द्र थापा, पार्टी सङ्गठन परिचालन र सङ्गठनात्मक सिद्धान्तको बालकृष्ण सुवेदी, भौतिक पूर्वाधार, स्थानीय निर्वाचन–२०७९ को तयारी सुरत केसी र पार्टी तथा जनवर्गीय सङ्गठनको अन्तरसम्बन्धमा सन्तोष रावलले प्रशिक्षण दिएका थिए ।

Leave a Reply