गएको पुस १९ गते म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट एक विदेशीले प्याराग्लाइडिङ उडान गरे। भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका उनले समुद्री सतहदेखि २५ सय मिटर उचाइमा रहेको ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा ल्यान्ड गरे।

एक्कासि आकाशमा प्याराग्लाइडिङमा उडेर आएका विदेशीलाई ताकम चौकीका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नेपालको नियम जानकारी नभएको जिकिर गरे। अब अनुमतिबिना उडान नगर्ने भन्दै लिखित रूपमा माफी मागेपछि प्रहरीले उनलाई छोड्यो ।

केही दिनअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिङ उडान गरेको तस्बिर सार्वजनिक भयो। बस्तीमाथि प्यारासुटमा उडिरहेको विषयमा स्थानीयले समेत खासै चासो देखाएनन्। प्रहरीलाई जानकारी नै छैन। नेपाली तथा विदेशीले व्यावसायिक प्याराग्लाडिङको सम्भाव्यता अध्ययन गर्ने भन्दै सम्बन्धित निकायबाट अनुमति नलिई उडान गर्ने गरेका छन्।

अग्लो स्थानमा घुम्दै गएका विदेशीले नियमविपरीत प्यारासुटमा उडेर आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण प्रथमका साथै निलगिरि, माछापुच्छे लगायत हिमशृंखला अवलोकन गरिरहेका छन्।

विश्व पर्यटन बजारमा ख्याति कमाएको प्याराग्लाडिङलाई विदेशीले एउटा अवसरको रूपमा लिने गरेकाले समेत जथाभावी उडान गर्ने गरेको नेपालका पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजनको बताए। ‘सीप छ भन्दैमा बिनाअनुमति जहाँ पनि उडान गर्न मिल्दैन, निषेधित क्षेत्रमा त अनुमति पाउनै मुस्किल हुन्छ,’ बमजनले भने।

उनले घुम्न गएका विदेशीले रमाइलोका लागि उडान गर्दा दुर्घटनामा ज्यानै गुमाउने र गम्भीर घाइते अवस्थामा उद्धार समेत गरिएको बताए। लाइसेन्स प्राप्त प्यारापाइलटले समेत शिकार आरक्ष, निकुञ्ज, सुरक्षा निकायका साथै राज्यले जोखिम र संवेदनशील मानेको क्षेत्रमा उडान गर्न नमिल्ने बताए।

हावाको चाप र अन्य भौगोलिक हिसाबले प्याराग्लाडिडका लागि उपयुक्त भएका क्षेत्रमा पर्यटन व्यवसायीको आग्रहमा अनुमति लिएर निश्चित समयका लागि भने उडान गर्न सकिने उनले बताए। प्याराग्लाडिङको परीक्षण उडानका लागि टेकअफ गर्ने स्थान र ल्यान्ड गर्ने जमिनको पहिचान नगरी उडान गर्नेहरू दुर्घटनामा परेर उद्धार गरिएकाले सचेत हुनुपर्ने प्यारापाइलट बमजनको भनाइ छ।

यता म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले प्रहरी र प्रशासन कार्यालयले सोको अनुमति दिन नमिल्ने बताए। उनले सम्बन्धित निकायबाट अनुमति लिएपछि जिल्लामा समेत जानकारी गराउनुपर्ने बताए। ‘ताकममा प्रहरीले कारवाही गरेको छ, जहाँ देखे पनि सूचना पाए त्यहीँ पुगेर अनुसन्धान गर्छौं,’ प्रनाउ राईले भने।

Leave a Reply