म्याग्दी बहुमुखी क्याम्पसमा हिँजो (सोमबार)देखि कम्प्युटरसम्बन्धी विषयमा कक्षा शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा शास्त्र सङ्काय अन्तरगत स्नातक तहमा कम्प्युटर विषय Bachelor in Information and Communication Technology Education (BICTE)प्रथम सेमेष्टरको कक्षा सुरु गरिएको हो ।

कम्प्युटर विषय कक्षाको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले प्राविधिक विषयको सञ्चालनले २०७३ सालमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सवको उद्देश्यअनुरुप कार्य गर्न वर्तमान सञ्चालक समिति लागिपरेको बताए ।

उनले समयानुकुलका विषयहरु थप गर्दै गुणस्तरीय शिक्षामार्फत म्याग्दी क्याम्पसलाई देशकै नमुना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको जानकारी गराउँदै ढुक्क भएर क्याम्पसमा अध्ययन गर्न विद्यार्थीलाई अनुरोध गरेका छन् ।

कार्यक्रमको अवसरमा कम्प्युटर विषय अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पसमा अध्यापन हुने विभिन्न विषयहरु, क्याम्पसबाट प्रदान गरिने सेवा तथा सुविधाहरु, विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिताहरु तथा भविष्यमा स्नातक तह उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्राप्त गर्न सक्ने ज्ञान, सीप तथा रोजगारीका अवसरका विषयमा पनि जानकारी गराइएको थियो ।

क्याम्पसको नीति, नियम र व्यवस्थाको बारेमा सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी गराएका थिएभने मानविकी, व्यवस्थापन र शिक्षा विभागका प्रमुखहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता र अतिरिक्त क्रियाकलाप संयोजक एवं उप–प्राध्यापक नारायण पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबीच स्नातक तह बिबिएस, विएड र विए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पसमा उपलब्ध संकायहरु र सो अन्तर्गत अध्यापन हुने विविध विषयहरुमा जानकारी गराइएको थियो । उक्त कार्यक्रमा करिव दुईसय विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply