म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पानीका स्रोतहरु नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै पानीको उपयोग गर्ने उपभोक्ता, सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मलेसियामा नेपालबाट केही प्रतिशत पानी निर्यात हुँदै आइरहेकाले यसलाई बढाउनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला न्यायाधीश पौडेलले हाम्रो देश नेपालमा जे स्रोत उपलब्ध छ त्यसलाई सही सदुपयोग गर्नुपर्ने भन्दै पानीको उद्योग सञ्चालन गर्न सकिने भएको हुँदा उपलब्ध स्रोतको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशका केही देशमा मात्रै निर्यात हुने नेपालको पानीलाई अब विश्व बजारमा पु¥याउन आवश्यक रहेको धारण व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पानीका स्रोतको उचित तरिकाले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले धौलागिरि र अन्नपूर्ण हिमालबाट बग्ने पानीलाई शुद्दीकरण गरेर बिक्री, वितरण गर्न सकेको खण्डमा धेरै आम्दानी गर्न सकिनेमा जोड दिनुभयो । राम–बिमला फाउण्डेशनका अध्यक्ष बिमला गौचनले खानेपानी र वन एक अर्काका अन्तर्सम्बन्धित भएकाले पानीको स्रोतलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले जीवन जीउन र पानीविना केही पनि गर्न नसकिने हुँदा सबै प्राणीलाई पानीको आवश्यकता रहेकाले पानीको संरक्षण गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले विश्व पानी दिवसको विषयमा आधारित रहेर आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम राम–बिमला फाउण्डेशनका अध्यक्ष गौचनको अध्यक्षता र डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा अझै खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ ।

संविधानको मौलिक हकको रूपमा स्वच्छ खानेपानीको हक लेखिएको भए पनि कार्यान्वयन हुन नसकेकोमा जनगुनासो बढ्दो सुनिन्छ । हरेक वर्ष यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ तय गरिएको छ ।

Leave a Reply