राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा विपशा परियार चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य एवं धौलागिरि इन्चार्ज तेजनारायण सुवेदीले विगतको समयमा गाउँ गाउँबाट सुरक्षा तथा बैंक र राजनीतिक दलका नेताहरु लखेटिएको भए पनि स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीहरु भने समुदायमै क्रियाशील बनेर काम गरेको बताउनुभयो ।

केन्द्रीय सदस्य सुवेदीले स्वास्थ्यकर्मीहरुले पनि निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग गर्दै अहिलेको सरकारले आस्थाको आधारमा कर्मचारीलाई पेल्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले पालिकापिच्छे एकएक वटा अस्पताल बनाउने, महिला स्वयंसेविकालाई भत्ताको व्यवस्थालगायत राम्रा कामको सुरुवात गरेको बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील भएकाले सोहीअनुसार नागरिकको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले आजभन्दा २७ वर्षअघि नेकपा एमालेको सरकारले हरेक गाविसमा एउटा÷एउटा स्वास्थ्यचौकी स्थापना गरेको बताउँदै एमालेको सरकार हुँदा स्वास्थ्य क्षेत्रको सुधारका लागि थुप्रै कामहरु गरेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई सङ्गठनमा आबद्ध हुँदैमा नडराउन आग्रह गर्दै उहाँले ढुक्कसँग जनताको सेवामा खटिन सुझाव दिनुभयो ।

नेकपा एमालेका जिल्ला सचिव सुरत केसीले स्वास्थ्यकर्मीहरुलाई दत्तचित्त भएर आफ्नो नियमित काममा लाग्न आग्रह गर्दै एमालेको आस्था बोक्ने कर्मचारीहरु इमान्दार, क्षमतावान र उत्कृष्ट कार्यसम्पादन गर्न सक्ने बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्याग्दीका संस्थापक अध्यक्ष मिना राम्जाली, निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटा र नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला उपाध्यक्ष भोलानाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको अवसरमा स्वास्थ्यको क्षेत्रमा लामो समय योगदान गरी सेवानिवृत्त हुनुभएका लक्ष्मीकुमारी श्रेष्ठ र खिमबहादुर शाहीलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अधिवेशन उद्घाटनसत्रको कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीका निवर्तमान उपाध्यक्ष लिला गौतमको अध्यक्षता, सचिव सुमित्रा थजालीको सञ्चालन र कोषाध्यक्ष यामबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा भावना पौडेल र विपशा परियारले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

 

Leave a Reply