????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा आसपासको धना जंगलमा ढकमक्क गुराँस फुलेको छ । पैदलमार्ग र सडक छेउछाउमा हातले नै गुराँसको फुल टिप्न मिल्छ । भकिम्लीका विभिन्न बस्तीबाट बनजंगलमा हेर्दा गुराँसले आफ्नो सौन्दर्य छरिरहेका छन् । बोटबाट झरेको फुलले जमिन समेत राताम्मे भएको छ ।

समुन्दी सतहदेखि २६ सय १४ मिटर उचाईमा अवस्थित बेलुढंगाबाट चारैतिर फर्किएर हेर्दा लालिगुराँसले वनजङ्गल रङ्गीबिरङ्गी भएको छ। पदैलमार्ग, सवारीसाधन आवतजावत गर्ने सडकदेखि भिरपाखासम्म गुराँस मुसुक्क मुस्कुराइरहेको छ । केहीबर्ष यताकै सबैभन्दा धेरै गुराँस फुलेपछि स्थानीयबासी र त्यहाँ घुम्न जानेहरूको समेत मन लोभ्याउने गरेको छ ।

गुचुमुच्च फुलेको गुराँसमा रमाउनेहरू विस्तारै आउन थालेको स्वर्गाश्रम ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य रत्न जिसीले बताउनुभयो । ‘राताम्मे गुराँसले पर्यटकको प्रतिक्षामा छन्,‘सवारीसाधनमै गुराँसे जंगलमा पुग्न सकिन्छ’ वडा अध्यक्ष जिसीले भन्नुभयो ।

आधादशक अगाडीसम्म भकिम्लीको मुसुङडोले, भुकभुके आसपासका क्षेत्रबाट पैदलयात्रा गरी पुग्नुपर्ने बाध्यता सडक सञ्जालको विस्तार सहितका अन्य पूर्वाधारले सहज बनाइदिएको छ ।स्वर्गाआश्रम आसपासका क्षेत्रमा फोटो फ्रेममा हालेजस्तै गरी गुराँससँगै जोडिएर तस्वीर समेत लिन मिल्ने रुखहरू भएकाले धेरै समय पर्यटकले विताउने गरेको स्थानीयको भनाई छ।

वडाबाट गुराँसको संरक्षणका साथै धेरै फुल्ने ठाउँमा मार्ग समेत बनाउने योजना छ । आसपासका क्षेत्रमा बनभोज र रमाइलो गर्ने गरी अन्य संरचनाहरू समेत तयार् भइरहेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले बेनी नगरभित्रको लालीगुराँसको राजधानीको रुपमा परिचित यस क्षेत्रलाई चिनाउन सकिने भएकाले गुुराँसको जंगल संरक्षणमा सक्रिय रहेको बताउनुभयो ।

यसबर्ष छिटै गुराँस फुलेकाले चैतको सुरुवातदेखि नै फाटफुट पर्यटक घुम्न गएका छन् । नयाँ बर्षको दिन स्वर्गाआश्रममा पूजाआज सहित भब्य चहलपहल हुने भएकाले सोही आसपासमा गुराँसको जंगलमा ठूलो भीड नै लाग्ने गर्दछ। गुराँसको जंगलबाटै धौलागिरी सहित दर्जन हिमश्रृंखला सहितको मनोरम दृष्य देख्न सकिन्छ । भकिम्लीमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेको छ ।

 

Leave a Reply