१२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।

द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारी, एड्भोकेसी फोरमलगायत संघसंस्थाद्वारा द्वन्द्वपीडितहरुको हक, अधिकार र सरोकारको विषयलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको तर्फदेखि भिडियो डकुमेन्ट्री प्रस्तुत गर्नुका साथै द्वन्द्वपीडित महिला सञ्जालका लेखापाल सुजता खत्रीले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राज्यबाट न्याय पाउन नसकेको, वास्तविक द्वन्द्वपीडितले राहत नपाएको, पीडकलाई कारवाही नभएको, स्थानीय तहबाट द्वन्द्वपीडितलाई जिविकोपार्जनका कार्यक्रमहरु हुन नसकेको जस्ता पीडासहितका मागहरु राखेका थिए । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले द्वन्द्वपीडितहरुको माग सम्बोधन गर्नका लागि सरकारी नीतिमै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितहरुको समस्या समाधान गर्नका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले द्वन्द्वपीडितहरुलार्ई राज्यका हरेक क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको हुँदा वास्तविक द्वन्द्वपीडितको पहिचान गरेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय शान्ति समितिका पूर्व संयोजक नेत्रबहादुर महतले अझै पनि वास्तविक द्वन्द्वपीडितहरुले राहत पाउन नसकेको बताउँदै पीडितलाई न्याय दिने सवालमा सरकार उदासीन रहेको बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीका प्रतिनिधि अमृत बास्कुने, गैरसरकारी संस्था महासंघका प्रतिनिधि छवि आचार्य, कोपिला नेपालका मनोविमर्शकर्ता खममाया पुनमगर, द्वन्द्वपीडितहरु देवी केसी, कृष्णलाल श्रेष्ठ, चक्रपाणि आचार्य र माने दमाईले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष राजु रिजालको अध्यक्षता, सचिव सुरेन्द्र केसीको सञ्चालन र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका जिल्ला अध्यक्ष देवी केसीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply