घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

बेनीबजार क्षेत्रका ३६ वटा फर्महरुमा गरिएको अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा खाद्यान्नका पसल २३, मसला पसल १, तरकारी तथा फलफुलका ४, मासु पसल ३, दुध डेरी १, एग्रोभेट १, रेष्टुरेन्ट १ र कस्मेटिकका २ वटा पसलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा भेटिएको दर्ता नगरी सञ्चालित मासु पसललाई तत्काल दर्ताका लागि बोलाइएको प्रमुख शर्माले बताउनुभयो । यसैगरी मासु पसलको फ्रिजमा सडेको अवस्थामा राखिएको मासुलाई तुरुन्तै नष्ट गरी फ्रिज सफा गर्न लगाइएको थियो ।

त्यस्तै खाद्यान्न पसलहरुमा भेटिएका म्याद गुज्रेका चाउचाउ, बिस्कुट, चकलेट पनि जफत गरी मुचुल्का बनाएर नष्ट गरिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा भएको अनुगमनमा म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र पत्रकार महासंघको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

Leave a Reply