---Advertisement---

म्याग्दीमा २० दलले स्थानीय निर्वाचनमा भाग लिने

On: March 24, 2022 9:28 PM
Follow Us:

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग लिने भएका हुन ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार छ ठूला दलबाहेक १४ वटा साना दलले निर्वाचन प्रयोजनका लागि कार्यालयमा निवेदन दिएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १४ दलले चुनाव चिह्नका लागि विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनमुक्ति,मंगोल नेशनल अर्गनाइजेशन,नेपाल कम्युनिष्ट पार्टी समाजवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएका छन् ।

यसैगरी नेपाली काँग्रेस (वि.पी),राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल दलित पार्टी,जनसमाजवादी पार्टी नेपाल,विवेकशील साझा नेपाल, नेपाल मजदुर किसान पार्टी,मौलिक जरोकिलो पार्टी र उन्नत लोकतन्त्र पार्टी र समाजिक एकता पार्टीले दल दर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिमचरणमा पु¥याएको छ । वैशाख १३ गते सम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । आयोगले तोकेका कार्यक्रमलाई जिल्ला निर्वाचन कार्यालयले प्रभावकारी रुपमा कार्यन्नवय गर्दै लैजाने सूचना अधिकारी शर्माले बताउनुभयो ।

सूचना अधिकारी शर्माले दिएको जानकारी अनुसार जिल्लामा ७४ मतदान स्थल र एकसय १९ मतदान केन्द्र निर्धारण गरिएको छ । यसपाली मंगला गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ८ नागी गरी दुईवटा मतदान स्थल थपिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । यस्तै उहाँले दिएको जानकारी अनुसार यसपटक ९ वटा मतदान केन्द्र थपिएका छन् ।

यदि उम्मेदवारले नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय छुट्टाइएको छ । आयोगले वैशाख १६ गते त साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने १७ गते चुनाव चिह्न प्रदान गर्ने उल्लेख गरेको छ । त्यस्तै उम्मेदवारहरूको लागि वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ । यसैगरी ३० वैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको तालिका सार्वजनिक गरेको छ । जिल्लाभर ८७ हजार ३ सय १८ मतदाता रहेका छन्। निर्वाचनको तयारीस्वरुप चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय खोलिने छ ।