म्याग्दीको सदरमुकामको बेनीबजारलाई नदी कटानबाट बचाउने काममा ढिलासुस्ती भएपछि जन दबाबमुलक अभियान सुरू गरिएको छ । बाढीपहिरोको उच्च जोखिममा रहेको खण्डमा यसबर्ष काम नगर्ने भन्दै ठेकेदार कम्पनी पन्छिन खोजेपछि बिहिबार बेनपा–७ र ८ वडाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकामा तत्काल काम सुरू गर्ने वातावरण बनाउन माग गरेका छन् ।

म्याग्दी जेसीजको अगुवाईमा भएको भेलापछि नदी कटानको सबैभन्दा जोखिम म्याग्दी जेसीज भवन आसपासको खण्डमा काम गर्न अस्वीकार गरेपछि ठेकेदार बिरुद्ध स्थानीयले कडा आन्दोलनको घोषणा गरेका छन् ।

छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ धमाधम काम भइरहदाँ सजिलो र कम जोखिम ठाउँलाई प्राथमिकता दिएर झार टार्ने प्रयास गरिएपछि चरणबद्ध आन्दोलनको चेतावनी सहित ज्ञापनपत्र बुझाइएको म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

सहायक प्रजिअ अर्जुन शर्मा र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई तत्काल ठेकेदार सहितको टोलीको उपस्थितीमा सार्वजनिक भेला गर्न माग गरिएको छ ।

बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिचाई विभाग मार्फत रुपाताल एकिकृत विकास आयोजनाबाट कालीगण्डकी नदी र म्याग्दी खोलातर्फ पक्की आरसीसी तटबन्ध लगाउन परियोजनाले १४ करोड लागत अनुमान गरी ठेक्का आह्वान गरेकोमा रौताह कन्ट्रक्सनले काम गरिरहेको छ ।

परियोजना र ठेकेदारको मिलेमतो भएको बजारबासीको गुनासो छ । ‘बजार जोगाउने नाममा बगाउन खोजिएको छ,‘चौतर्फी दवावमुलक कार्यक्रम गर्नेछौ’ यूवा सुजन बरुवालले बताउनुभयो । प्रयाप्त बजेट हुदाँहुदै ठेकेदारले काम नगर्दा समेत परियोजनाले अघोषित सघाइहेको स्थानीयको आरोप छ ।

४२ प्रतिशत न्यून अंक ठेक्का पारेपछि समयमै गुणस्तरीय तटबन्ध हुने कुरामा शंका गरिरहेको अवस्थामा स्थानीय केही ठेकेदारलाई नै जिम्मा लगाएर मुख्य ठेकेदार पन्छिन खोजेको स्थानीयको भनाई छ । टोलीसँगको छलफलमा मेयर श्रेष्ठले यसअगाडी भएका छलफल र सहमतिलाई परियोजना र ठेकेदार पक्षबाट कार्यान्वय नभएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

‘तपाईहरुको आन्दोलनमा मेरो समर्थन छ,‘धेरै प्रयास गरिएपनि सम्बन्धित निकायको कमजोरी भइरहेको छ’ मेयर श्रेष्ठले भन्नुभयो । सोही अवसरमा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बेनपा ८ का अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

ठेकदार छनोटमै ढिलाइले कालीगण्डकी र म्याग्दी खोलामा समयमै काम नहुने र आउँदो बर्खा बाढीको उच्च जोखिममा रहने आंकलन गरी जिल्ला प्रशासन कार्यालयबाट समेत छलफलमा बोलाउने सहायक प्रजिअ शर्माले बताउनुभयो ।

साविक जल उत्पन्न प्रकोप कार्यालयले लगाएको पक्की तटबन्ध कालीगण्डकी नदीमा आएको बाढीले गत मनसुनमा बगाएपछि स्थानीयले सुरक्षाका लागि अस्थायी ग्याभिन जाली समेत बगाएको अवस्थामा तत्काल काम नभए बर्खामा जेसीज भवन, प्रकाश माविको तल्लो क्षेत्र आसपासमा कटान गर्ने प्राविधिक टोलीले समेत संकेत गरेका छन् ।

म्याग्दीमा चुरेन, गुर्जा, धवलागिरि शृंखला, नीलगिरि, अन्नपूर्णसमेत करिब दर्जन हिमाल अवस्थित यीनै यिनै हिमालबाट झर्ने थुप्रै सहायक खोला मिसिने म्याग्दी र कालीगण्डकी नदीको संगमस्थलमा बेनीबजार छ । ९० डिग्री बढी भिराला भएकाले म्याग्दी र कालीगण्डकी कटानबाट बेनी बढी जोखिममा छ । नदी संरक्षणको काम गरिरहेको रुपातालले आवश्यकताभन्दा पहुँचको आधारमा मात्रै काम गर्ने भन्दै यसअगाडी समेत चर्को आलोचना हुने गरेको थियो ।

Leave a Reply