म्याग्दीको मालिका गाउँपालिका ७ विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि विद्यालय पोसाकमै कृषकका खेतवारीमा पुगेर कृषकलाई खेतीपातीका कुराहरु सिकाइरहेका छन् ।

कृषिलाई आधुनिकीकरण गर्ने उद्धेश्यले खेतबारीमा प्रयोगात्मक अध्ययन गर्दै गरेका बाली विज्ञानका विद्यार्थीहरुले कृषकहरुलाई व्यवसायीक कृषि भनेको केहो ? वैज्ञानिक खेती प्रणालीको विकास कसरी गर्ने ? उन्नत मल विऊको प्रयोगले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ लगाएतका कुराहरु सिकाउँदै र उनीहरुका अनुभव सुन्दै रमाइरमाइ अध्ययन गरिरहेका भेटिन्छन् ।

विममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरु भएको थियो ।

अहिले यहाँ २१ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेलले बताए ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् ।

‘कृषि पढ्ने विद्यार्थीलाई अभ्यास गराउने क्रममा किसानका खेतवारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउँदै आएका छौं’ शिक्षालयका प्रमुख कडेलले भने ‘हाम्रो आफ्नै कृषि फर्म पनि छ,त्यहाँ तरकारी र फलफूल खेती,च्याउँ खेती,माछा पालन आदि गरेका छौं, खेतवारीमा नै पुगेर किसानसंगसंगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतवारीमा पठाउने गरेका हौं ।’

‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अभ्यास पनि गर्नुपर्छ,किसानसंगै खेतमा काम गर्दा धेरै ज्ञान पनि पाइँदोरहेछ’ बाली विज्ञानको दोस्रो सेमिष्टरमा अध्ययनरत छात्रा सोविता बूढाले बताइन् ।

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कडेलले बताए। किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ ।

बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटीएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

Leave a Reply