नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा पार्टीले लोकप्रिय मत ल्याउने दावी गरेको छ । बेनीमा बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाभरी पार्टीको लोकप्रियता फर्किएकाले ४५ वटै वडा र छ वटै स्थानीय तहमा उमेद्वार खडा गरेर चुनावमा जाने निर्णय भएको जनाइएको छ ।

बैद्य र विप्लपमा गएका माओवादीका अधिकांश नेताहरु माओवादी केन्द्रमै फर्किएका, संगठन सुदृढ बनेको न जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो। ‘हरेक वडामा उत्साहजनक उपस्थिती छ,‘माओवादी आन्दोलनका कारण भएको राजनीतिक उपलब्धी जनतालाई थाहा छ’ संयोजक जुग्जालीले भन्नुभयो ।

माओवादी नेतृत्वको सरकारले गरेको लोडसेडिङ अन्त्य, बेनी–दरवाङ र बेनी–जोमसोम लगायत सडक आयोजना कार्यान्वयमा खेलेको भूमिकाले चुनावी माहौल बनाउन सहयोग पुग्ने माओवादीका नेताहरुको भनाई थियो । यसैबीच स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर तोकेको हो ।

बेनी नगरपालिकामा बिनोद केसी, मालिका गाउँपालिकामा रेशम जुग्जाली (सुविन), मंगलामा टेकबहादुर विश्वकर्मा, धवलागिरीमा खुमनाथ सुवेदी, रघुगंगामा रिम कटुवाल र अन्नपूर्णमा वुद्धी पुनलाई चुनावी कमाण्डरको जिम्मेवारी दिइएको जिल्ला इञ्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो ।टोल, वस्तीमा पुगेर पार्टी र जनवर्गीय संगठन परिचालन गरि चुनावी तयारी र चैत २७ गतेभित्र उमेद्वार छनौट गर्न कमाण्डर खटाइएको उहाँले बताउनुभयो ।

बैठकले इञ्चार्ज पौडेलको संयोजकत्वमा जिल्ला समन्वय समितिका संयोजक जुग्जाली, प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, प्रदेश सांसद विनोद केसी र बेनी नगर अध्यक्ष सेरबहादुर केसी सदस्य रहेको वार्ता टोली बनाएको छ । ठुला दलबाट सम्मानजनक तालमेलको प्रस्ताव गरेको अवस्थामा छलफलका लागि वार्ता समिति बनाइएको छ भने नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेलका लागि सहमति नजिक रहेको समेत नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकले सल्लाहकार चन्द्रबहादुर घिमिरेलाई कार्यालय ब्यवस्थापन, इञ्चार्ज पौडेल र प्रदेश सांसद केसीलाई जिल्ला स्तरमा समन्वय तथा सहजिकरणको जिम्मेवारी दिएको छ । अर्का सल्लाहकार कृष्ण थापाको नेतृत्वमा ५ सदस्यीय जिल्ला स्तरीय चुनावी घोषणापत्र लेखन समिति बनाएको छ ।

वि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रका उमेद्वारले ५ वटा वडामा निर्वाचित भएका थिए । स्वतन्त्र उमेद्वार वनेर चुनाव जितेका मालिका–७ विमका वडा अध्यक्ष रेशम जुग्जाली र बेनी–३ भकिम्लीका वडा अध्यक्ष पदम पुन हाल माओवादी केन्द्रमा हुनुहुन्छ । माओवादी केन्द्रले जितेका वडामा तुलनात्मक रुपमा अरु पार्टिकाले जितेको भन्दा विकास निर्माण र सेवा प्रवाहका हिसावले अगाडी देखिनु माओवादीका बारेमा सकारात्मक सन्देश प्रवाह भएको बैठकमा सहभागी जिल्ला सदस्यहरुले बताएका थिए ।

Leave a Reply