गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेका प्रमुख कामहरुको प्रगति विवरण शनिवार सार्वजनिक गर्नुभएको छ । कार्यालयमा आयोजित पत्रकार भेटघाटमा वि.स. २०७७ माघ १ देखि २०७८ चैत ११ गतेसम्म भएका प्रमुख गतिबिधी सार्वजनिक गर्नुभएको हो । करिब १५ महिनाको अवधिमा १३७ वटा मुद्दा दर्ता भएकोमा ६० वटा फस्यौट र ११२ जना अभियुक्तलाई पक्राउ गरिएको प्रनाउ राईले बताउनुभयो ।

७७ वटा मुद्दा फस्यौट हुन बाँकी र विभिन्न मुद्दाका १२ जना आरोपी फरार छन् । लागु औषध दुव्यसनी, हत्या, बलात्कार सम्बन्धी मुद्दाका अधिकांश आरोपी पक्राउ परेका उहाँले बताउनुभयो । अदालतबाट दोषि प्रमाणित भएका १७ जना अभियुक्त पक्राउ गरि उनिहरुबाट १२ बर्ष १० महिना १३ दिन कैद र रु. ९९ लाख ९५ हजार ६०३ जरिवाना असुल उपर गरेको प्रनाउ राईले बताउनुभयो ।

उत्कृष्ट कार्य गर्ने ५६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत, कार्य सम्पादन सन्तोषजनक नभएका १४ जनालाई आन्तरिक कारवाही र १४५ जनालाई तालिम दिएको बताउनुभयो । रघुगंगा गाउँपालिका–७ चिमखोलामा जग्गा र भवन व्यवस्थापन गरेर प्रहरी पोष्ट स्थापना भएको, मौवाफाँटमा प्रहरी चौकी भवन निर्माण भएको, प्रहरी कार्यालय भित्र थुनुवा भेटघाट कक्ष, पुस्तकालय, बहुउद्देश्यीय भवन, सामुदायिक चोकमा ट्राफिक र दरवाङ वसपार्कमा चेकिङ विट स्थापना भएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सर्वसाधारणलाई मास्क वितरण, बेनी अस्पतालमा अक्सिजन सिलिण्डर व्यवथापन, आगलागी नियन्त्रण, विपद्का घाइतेको उद्दार, बेनी बजारका सिसिटिभि मर्मत लगायतका काम भएका छन् । कारागारमा एक हजार लिटर क्षमताको दुई थान टंकी उपलब्ध गराइएको र न्यायाधीशसँग कैदीबन्दीहरुको अन्तरक्रिया गराइएको छ । १२ हजार १८८ जनालाई २२२ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम र सात हजार २०० सवारी साधनलाई कारबाही गरेर रु. ४५ लाख ७२ हजार राजस्व संकलन भएको छ ।

यातायात ब्यवस्थापनका लागि बेनीमा एकतर्पिm यातायात सञ्चालन, सडक अतिक्रमण हटाउने, बेनीका ७६ स्थानमा ट्राफिक संकेत बोर्ड राख्ने, २ ठाउँमा कन्भेक्स मिरर राखिएको छ । सामुदायिक तर्फ ६९८ वटा कार्यक्रमबाट ३४ हजार ८५ जना लाभान्वित भएका छन् । सामुदायिक प्रहरीलाई व्यवस्थापन, कालीपुल चेक पोष्ट, मुनामा प्रहरी चौकी स्थापना, बाल निगरानी कक्ष, सुधार गृह, सिनियर प्रहरी अधिकृत र महिला प्रहरीको ब्यारोक निर्माण तथा जग्गा प्राप्त भइसकेको घोडेपानी प्रहरी चौकीको भवन निर्माण गर्नुपर्ने बाँकी योजना रहेको प्रनाउ राइले बताउनुभयो ।

२०७७ माघ १ गते प्रहरी प्रधान कार्यालयबाट म्याग्दीमा सरुवा भएर आउनुभएका राईले सरोकारवालासँगको छलफलपछि ९ बुदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । प्रहरी प्रधान कार्यालयले म्याग्दीमा तिलक भारतीलाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।

Leave a Reply