नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यशुदा रोका
निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३,सातविसे निवासी रोका राजनीतिकसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

मगला शिक्षा क्याम्पसको आर्थिक पूर्वाधार समितिको संयोजक समेत रहनुभएकी रोकाले राजनिति र समाजसेवालाई सँगै लैजानुभएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको अधिवेशनबाट अनेमसंघको बिद्यान अनुसार ४५ सदस्यीय जिल्ला कमिटि गठन गरि पहिलो बैठकबाट अध्यक्ष सहितको पदाधिकारी चयन गरिएको हो । कमिटिको उपाध्यक्षमा हेमकुमारी गर्बुजा, पशुपति शाही, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा देवकुमारी पुन र कोषाध्यक्षमा लक्ष्मी भण्डारी निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा भुलमाया तिलिजा, सुनिता केसी, सुस्मिता सापकोटा, जानुका अधिकारी, भावना पौडेल, शोभा परियार, तेजिमाया बिश्वकर्मा, आशा गुरुङ, मनदेवि परियार, रत्नकुमारी कार्की, सरिता पुन, हरिमाया घर्ती लगायत रहनुभएको छ । जिल्लाका छ वटा स्थानीय तहमा निर्वाचित भएका पालिका कमिटि अध्यक्षहरु जिल्ला कमिटि सदस्यमा स्वत मनोनित हुने व्यवस्था रहेको छ । अध्यक्षमा निर्वाचित रोकाले महिलाको हक, अधिकार तथा सुरक्षाको पक्षमा अनेमसंघले निरन्तर आवाज उठाउने बताउनुभयो ।

साथै उहाँले सक्षम महिला नेतृत्व उत्पादनका लागि सामाजिक तथा राजनैतिक गतिबिधिमा सबै महिलालाई सक्रियताका साथ सहभागी गराउने गरि कार्यक्रम तथा योजना तय गर्ने बताउनुभएको छ । जिल्ला कमिटिको पहिलो बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बिभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्यण गरेको छ ।

सम्मेलनमा जिल्लाका ६ वटा पालिकामा गठन भएका पालिका, वडा र टोल कमिटिबाट १२० जना प्रतिनिधि छनौट भएका थिए । निर्वाचनका लागि अध्यक्ष मण्डलका संयोजकमा नेकपा एमालेका केन्द्रिय सदस्य नरदेवी पुन, र सदस्यहरुमा थमसरा पुन, खरमाया बिटालु, जिल्ला अध्यक्ष देवेन्द्र बहादुर कटुवाल रहनुभएको थियो ।

Leave a Reply