सरकारले ३० वैशाखमा स्थानीय चुनाव घोषणा गरेपछि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । समानुपातिक, समावेशिता र युवा सहभागिताको कुरा गरेर नथाक्ने राजनीतिक दलहरूको आवाज भने बिस्तारै सुस्ताउन थालेको छ । निर्वाचनमा उम्मेदवार हुने/बनाउने सन्दर्भमा जति नाम चर्चामा आएको देखिन्छ, स्थिति त्यसको विपरीत छ ।

 

निरन्तरता, इतिहास र अनुभवलाई देखाएर फेरि एकपटक युवा पुस्तालाई बाइपास गर्न सक्ने विषयलाई कडा निगरानीमा राखौँ । संघर्ष, बलिदान र आन्दोलनमा नायक युवाहरूलाई राजकीय व्यवस्थापनमा अयोग्य देखाउने परम्पागत प्रवृत्तिविरुद्ध एकताबद्ध र सुझबुझपूर्ण हस्तक्षेप जरुरी छ ।

यो कुनै एक अमुक पार्टीको मात्र नभई सबैको साझा समस्याको रूपमा रहेको छ । विभिन्न तथ्यहरूको गहिराइबाट आजको व्यवस्था यहाँभित्र हाम्रो स्थान र हामीप्रतिको सामाजिक मनोविज्ञानलाई वस्तुनिष्ठ समीक्षा गरी प्रष्ट योजना देखाएर संघर्षमा जस्तै यो आसन्न निर्वाचनमा पनि अगुवाइ गर्नुपर्ने आवश्यकता छ ।

झण्डै २ दशक टुटफुटबाट ग्रस्त कम्युनिस्ट घटकहरू सारमा प्रभावकारी भूमिकामा रहे पनि २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा देखिने स्थिति बनेन ।

युवा क्रान्ति, परिवर्तन र अग्रगमनको शसक्त हतियार हो । अरुमा भन्दा २ गुणा बढी ऊर्जा, जोश र लगनशीलता युवामा पाउन सकिन्छ । यसकै बलमा उक्त परिवर्तन भए पनि युवाहरूको निम्ति परिभाषित संगठन थिएन । २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपाल एमालेसँग सामिप्यता राख्ने संगठनको रूपमा स्थापना भयो । युवाजन्य, स्वरोजगार, जनजिविका र राष्ट्रियताको सम्बन्धमा निरन्तर आवाज उठाउने यस संगठनले छोटो समयमा राजनीतिक, सामाजिक र संगठनात्मक हिसाबले धेरै आशासहित विकास गरेको थियो । अन्याय, भेदभाव, हिंसा र अनियमितताविरुद्ध सम्झौताहीन आन्दोलनमा होमिएको यो संगठनले जनताको असली पहरेदारको रूपमा आफ्नो पहिचान निर्माण गरेको थियो ।

विपक्षीका गलत कदमको विरोध मात्र होइन, स्वयम् पार्टीभित्र पनि त्यस्ता प्रवृतिको भण्डाफोर गर्दै न्याय र सत्य स्थापित गर्ने यो संगठनको राजनीतिक उचाई साच्चिकै लोभलाग्दो बनेको थियो । सही विचार र दृष्टिकोणमा दह्रो ढंगले उभिएको यो हाम्रो संगठनले समग्र देशलाई निकासको बाटो देखाउन सक्ने अब्बल राजनीतिक चेतसहित उपस्थित छ भन्ने धेरै पटक प्रमाणित गरेको छ । जुन दिन लरखराईरहेको हाम्रै पार्टीभन्दा माथि उठेर राजतन्त्रको विकल्प गणतन्त्रको उदघोष गरियो । बिस्तारै सिंगो देश गणतन्त्रको नारासहित ०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा होमियो र सदाका लागि राजतन्त्रको समूल अन्त्य गरी जनताको छोराछोरी जनमतबाट यो देशको शासन सत्ता संचालन गर्नसक्ने ठाउमा पुग्ने स्थिति बन्यो ।

धेरै विषयमा यो महत्त्वपूर्ण त छँदैथियो अझै प्रस्ट ढंगले युवाहरूको भूमिकालाई यसले थप गौरवपूर्ण व्याख्या गरेको थियो । महँगी, वैदेशिक हस्तक्षेप, घरेलु प्रतिक्रियावाद, अनियमितता, भ्रष्टाचार, अराजकता र कुशासनविरुद्ध बेग्लै पहिचानका साथ उभिएर सही बाटो देखाउने यस संगठनले दिशानिर्देश गरेको कैयन गौरवपूर्ण तथ्यहरू इतिहासका सुनौला पानाहरूमा भेटिन्छन् । राजनीतिक, सामाजिक र राष्ट्रियताका सवालमा छुट्टै पहिचानका साथ उभिएको यस संगठनले पार्टीभित्र तथा समाजमा ठूलो अपेक्षाका साथ हेर्ने विश्वास आर्जन गरेको थियो । यति भन्न सकिन्थ्यो- न्याय र समानताको पर्याय तथा युवा आन्दोलनको मूल प्रवाहको रूपमा संगठनले देश र जनतामा आशापूर्ण राजनीतिक स्पेश निर्माण गरिसकेको थियो ।

हामीले सामिप्यता राख्ने पार्टीभित्र पनि यो संगठनलाई बेग्लै महत्त्वका साथ हेर्नुका साथै विशेष प्राथामिकता दिने गरेका तथ्यहरू देख्न सकिन्छ । पार्टीको नेत्वृत्व गर्ने तत्कालीन सबै नेताहरू युवा नै थिए । २०४८, २०५१ र २०५६ को निर्वाचनहरूमा अधिकांश प्रतिनिधिहरू युवा नै रहनु कुनै संयोग थिएन र देखाउन वा भन्नका लागि मात्र पनि थिएन । यो त संगठनले लोकतन्त्र र जनजीविकाको पक्षमा उठाएका अविराम आन्दोलनको योगफल थियो । भन्दा भ्रातृ संगठन भनिए पनि भूमिकामा राजनीतिक हैसियत निर्माण भैसकेको थियो । आज पार्टीको सबै निकायमा तिनै पुस्ता छरपष्ट भेट्न सकिन्छ, जुन त्यही संगठनको उपलब्धीहरू हुन् ।

तर आज कहिँकतै यो संगठनले आफ्नो गति, गन्तव्य र शक्तिलाई बिर्सन खोज्दै त छैन ? कतै हिजो पूर्वमण्डलेका भजन गाउने अराजनीतिक चाकरहरूको स्वार्थ समूहको रूपमा समाजमा आफ्नो उपस्थिति कमजोर वनाउँदै त छैन ? मुद्दाविहीन भुत्तेहरूको अराजक भिड तयार हुँदै त छैन ? हिजोको त्यो विश्वास किन गर्ल्याम–गुर्लुम्म ढल्दैछ ? इमान, जुझारूपन, लगनशीलता, अग्रगमन, परिवर्तन, सत्य र न्याय शब्दसँग किन हाम्रो सम्बन्ध टाढिँदै गैरहेको छ ?

यी तमाम प्रश्नहरूको उत्तर हामीले खोज्नुपर्ने छ । विविध राजनीतिक उतार–चढावका बीचमा हाम्रो भूमिकाहरू पनि फेरबदल भई नै रहे तर आज यो समय, राजनीतिक धरातल, जनताको जीवनसँग जोडिएका सवालमा हामी एकाकार छौँ त ? पक्कै योभन्दा धेरै भिन्न ढंगले हाम्रो जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्दै नयाँ संभावना खोज्नुपर्ने छ ।

यो बीचको १ दशक जसरी मुलुकको राजनीति अगाडि बढ्यो यसबाट कुनै पनि संगठनहरू अछुतो रहन सकेनन् । हामी निहित स्वार्थको गोटी बन्यौँ, कहिले अपराधी बनाइयो । आन्दोलनदेखि परिवर्तनसम्मका मात्र कठपुतली बनाइए । हेर्दा लाग्छ हाम्रो स्वाभिमान, ऊर्जा र विवेक कसैको सामु गिरेको छ, हामी आफ्नो निर्णय गर्नै सक्दैनौँ । यसले समाजमा ठूलो निराशा पैदा गराएको छ । समाजले कि त गुण्डा कि त भ्रष्ट देख्छ । अतः समाजको त्यो तिरस्कारबाट एक जना युवा आफ्नो लय गुमाउन थाल्दछ की उ आफैँमा के हो र के गर्न सक्दछ । यसरी यो देशको महत्त्वपूर्ण पुस्ता राजनीतिक वितृष्णा र कुण्ठाले समाजमा अराजकता र दण्डहीनताको पक्षधर बन्न पुगेको छ, यो मुलुकको लागि ठूलो दुर्भाग्य हो । यस्मा को जिम्मेवार छन् बहस गर्दै गरौला ।

हामीले बनाएको त्यो स्वर्णीम इतिहासको जगमा टेकेर आजको युवाजन्य तमाम बेथितिका सामु गम्भीर आत्मसमीक्षासहित सच्चिँदै यो युगको युवाले देख्ने र सोच्ने सभ्य र गतिशील समाज निर्माणको प्रस्ट खाका कोर्नु पर्नेछ । जहाँ सबै युवा सभ्य हुनेछन्, कर्ममा विश्वास गर्नेछन्, स्वाभिमानमा चट्टान जस्तै मजबुत रहनेछन्, परिवर्तन र क्रान्तिमा इमान बेच्ने छैनन् । न्याय र सत्यमाथि कहिल्यै सम्झौता गर्नेछैनन् । देश र जनतालाई सर्वोपरी मान्दै लोकतन्त्रको असली पहरेदार बन्नेछन् । स्वरोजगार बन्दै कमाईको निश्चित रकम राज्यलाई कर तिर्दै त्यसको सही सदुपयोगमा निरन्तर खबरदारी गर्नेछन् ।

तर, हिजोको त्यो इतिहास छ, भइरहेको त्यो छ र गर्नुपर्ने यी छन् । जे आजको आवश्यकता हो त्यो हामीले यस्तै अवस्थाको हाम्रो संगठनबाट पूरा गर्न सक्छौँ ? इमानका साथ भन्नुपर्छ- सक्दैनौँ ।

अब युवा र आन्दोलनलाई नयाँ ढंगले संगठित र प्रशिक्षित गर्न सक्नै पर्दछ । आजका मुद्दा चाङबद्ध छन् । तर हाम्रो वर्तमान प्राथामिकता सत्ता, शक्ति र स्रोतमाथि छ । यसले विवेकशून्य बनाउँदै हाम्रो भरपुर उपयोग गर्न खोज्दैछ ।

हामी कम्युनिस्टहरूले देख्ने सपना र तय गरेको गन्तव्यमा पुग्नको लागि नयाँ दृष्टिकोण, नयाँ सोच र यसलाई बोकेर पार लगाउन सक्ने वैचारिक–राजनीतिक संगठनको आवश्यकता छ । वर्तमान घटनाहरूको वस्तुनिष्ठ समीक्षा गरी भविश्यका हाम्रा जिम्मेवारीलाई सूत्रबद्ध गर्नुपर्ने छ । हामीले गरेको विद्रोहले वास्तवमा सबै पार्टीभित्र युवाहरूको उपस्थिति उल्लेख्य बन्न पुगेको छ । संघर्षको पेचिलो समयमा अग्रभागमा हुने र अवसर र श्रोत–साधनको पहुँचमा पर र पिँधमा बसेर हेर्नुपर्ने उपयोगको नीतिविरुद्ध आफ्नै पार्टी भित्र पनि लड्ने द्वन्द्ववादी चेतको सिर्जना गर्दै आसन्न स्थानीय चुनावको सँघारमा हुन लागेको युवा संघको भेला त्यसकारण अर्थपूर्ण छ ।

अब युवा आन्दोलनलाई पुरानो साख फर्काउने र नयाँ सुनौलो भविष्य देखाउने गरी केही प्रस्तावसहित हामी पुनः संगठित हुँदै रूपान्तरण गर्नेछौँ । हाम्रो लक्ष्य, दृष्टिकोण, उद्देश्य र सपना बोक्न सक्ने मुलतः संगठन हुनेछ । देशभर सबै क्षेत्रमा अभियान लिएर जानेछौँ । आजको समाजले हामीमाथि धेरै भ्रमपूर्ण प्रश्नहरू गरेको छ । त्यसलाई देख्ने, बुझ्ने र सुन्नेगरी जवाफ दिनेछौँ ।

ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख संविधानको उपलब्धीलाई आधार बनाएर राष्ट्रिय पुँजीको विकास गर्न उत्पादनमा सारा युवा शक्तिलाई लगाउँदै बेरोजगारीको समस्यालाई पनि हलगर्न प्रयत्न गरी उत्पादनमा आत्मनिर्भर हुनसक्दा दुनियाँको सामु हाम्रो छुट्टै स्थान बन्नेछ ।

बिक एकीकृत समाजवादीका म्याग्दी अध्यक्ष तथा युवा संघ नेपालका उपाध्यक्ष हुन् ।

Leave a Reply