म्याग्दीमा पन्ध्र सयभन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ सय ५३ जना म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिनेमध्ये १२ सय ६४ पुरुष र ३ सय १६ महिला छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार यही चैत ११ गते शुक्रबार निवेदन दिने अन्तिम मितिसम्म मागभन्दा दोब्बर बढीले आवेदन दिएपछि परीक्षाको माध्यमबाट छनौट गरिने जनाइएको छ ।

म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ । छनोट प्रक्रिया अन्तरगत चैत्र ६ गतेदेखि ११ गतेसम्म फारम वितरण, १५ गतेदेखि २२ गतेसम्म छनौट र चैत्र २८ गतेदेखि तालिम सञ्चालन गरिने प्रहरी निरिक्षक विरेन्द्र गुरुङले बताए ।

‘म्यादी प्रहरीका लागि आवश्यक सङ्ख्याभन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनोट विधिमार्फत म्यादी प्रहरी भर्ना गरिनेछ’, गुरुङले भने । आवेदन दिएकालाई १५ गतेदेखि २२ गतेसम्म छनौट र चैत्र २८ गतेदेखि तालिम सञ्चालन गरिने छ।चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देखिएको हो । उमेरहद खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

 

Leave a Reply