निर्वाचन आयोगले म्याग्दीका स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकाकामा निर्वाचन अधिकृतको नाम सार्वजनिक भएको हो ।

जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

बेनी नगरपालिकामा जिल्ला न्यायाधिश तेजनाथ पौडेल, अन्नपूर्ण गाउँपालिकामा जिल्ला समन्वय अधिकारी जानुका सुबेदी, मंगला गाउँपालिकामा जिल्ला न्यायधिवक्ता धर्मराज पौडेल, मालिका गाउँपालिका उपन्यायधिवक्ता गोविन्द उपाध्याय,धवलागिरी गाउँपालिकामा निर्देशक आन्तरिक राजश्व कार्यालय काठमाण्डौका हरिराम नागिला र रघुगंगा गाउँपालिका स्रेस्तेदार तेजप्रसाद पौडल तोकिनुभएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । यो संगै स्थानीय तहको निर्वाचनको माहोल ह्वात्तै बढेको छ । जिल्लामा राजनीतिक दलका नेताहरु घरदैलो अभियान सहित संगठनका गतिविधिमा केन्द्रित भइरहेको बेलामा जिल्लामा निर्वाचन अधिकृत तोकिएपछि थप माहोल बढेको छ ।

निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका मुख्य जिम्मेबारी हुनेछ ।

Leave a Reply