धारो,कुवा,खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला । तर,म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका स्थानीयले खोले साग र डुँडे साग बेचेर मनग्गे आम्दानी गर्दै आइरहेका छन् ।

दग्नामका ७२ वर्षिय दलबहादुर गर्बुजाले गाउँको छेउमा रहेको पानीको धारो (पधेरो) को माथिपट्टी रहेको जग्गामा खोले साग लगाएर एक सिजनमा ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् भने त्यहाँका सोमबहादुर बर्देवा, राजन वर्देवा लगाएतका विद्यालयमा पढ्ने बालबालिकाहरुले समेत डुँडे साग बेचेर एक सिजनमा १० देखि १५ हजार रुपैयाँ आम्दानी गरेर विद्यालयको खर्च चलाएका छन् ।

विषादी रहित र शतप्रतिशत आग्र्यानिक हुनेभएकोले खोले र डँडे साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले र डुँडे सागको माग बढ्न थालेपछि दग्नामका स्थानीयले गाउँको चिस्यानयुक्त ठाउँमा त्यसै खेर गइरहेको साग टिपेर मनग्य आम्दानी गर्न थालेका छन् ।

छिप्छिपे पानी बग्ने खोला र जरुवामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिएको दग्नामका विरबहादुर बर्देवाले बताए । कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुंगे साग पनि भनिन्छ । त्यसैगरी डँुडे साग जलुकीनी र खोलाको किनारामा पाइन्छ ।

बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले व्यावसायिक रूपमा नै खोले सागखेती गर्न थालेका छन् । म्याग्दीका दग्नाम,चिमखोला,बेग,हिस्तान,कुइने,गुर्जा,मुदा,मुदी लगाएतका ठाउँहरुमा खोलेसाग पाइने भए पनि स्थानीयले यसलाई व्यवसायिक रुप दिन नसकिरहेको अवस्थामा दग्नामका स्थानीयले व्यवसायिकरुपमा गरेको साग खेतीले धेरैलाई प्रेरणा दिने दग्नामकी ७४ वर्षिया डीलमाया गर्बुजाले बताइन् ।

बजारसम्म पु¥याउन सक्ने हो भने खोले साख बजारमा खोसाखोस हुने दलबहादुरको अनुभव रहेको छ । ‘बजारसम्म पुर्याउन कठिन हो, बजारमा पुर्याउनसाथ खोसाखोस हुन्छ’ दलबहादुरले भने ‘बेनी,गलेश्वर,राखुका बजारमा साग लगिनपुर्याउँदै डोको रित्तिन्छ’ दलबहादुरले भने ।

यहाँका आधा दर्जन बढी खोले सागको व्यावसायिक खेती गरेका छन् । धारा,खोला वा चिस्यानयुक्त ठाउँमा खोले सागको व्यवसायिक खेती गर्न सकिने रघुगंगा गाउँपालिका ४ दग्नामका कार्यालय सहायक समेत रहनुभएका विरबहादुर बर्देवाले बताए । उनका अनुसार बजारमा प्रतिमुठा रु ३० देखि रु ५० सम्ममा खोले साग विक्रि हुने गर्दछ ।

गाउँमा घुम्न आएका व्यक्तिहरु साग किन्न घरमै आउने गरेका गर्बुजाले बताए । पछिल्लो समय यहाँको खोले साग बेनी,पोखरा,काठमाण्डौमा रहेका आफन्तहरुलाई कोशेलीको रुपमा समेत पठाइन थालिएको छ ।

किसानका अनुसार , मङ्सीर देखि चैत महिना सम्म खोले साग उत्पादन हुन्छ । विशेष गरेर फागुन देखि चैत सम्म यसको माग अत्यधिक हुने किसानहरुको भनाइरहेको छ । ‘चैत वैशाख महीनामा त यति धेरै माग बढ्छ कि पूरा गर्नै सकिन्न’ बर्देवाले भने ।

स्थानीय किसानहरुका अनुसार सङगलो पानी बग्ने स्थानमा खोले साग फल्छ । पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा भने खोले साग आफै नष्ट भएर हराउछ । सामाजिक विषयका शिक्षक समेत रहनुभएका न्यू वेष्ट प्वाइन्ट आवासीय माविका भाइस प्रिन्सिपल कृष्ण जिसीले यो सागमा कुनै मल विषादि प्रयोग नगरिने भएकोले आर्गेनीक हुने बताए ।

यो साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकोले यसको माग दिन प्रतिदिन बढ्दै गएको जानकारहरुको भनाइरहेको छ ।

किसानहरुका अनुसार खोले साग रोपेको एक महीना भित्र नै बेच्ने लायक हुन्छ । रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्दैन । त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन् ।जब पहिलो पटक टिपिन्छ त्यसको हप्ता दिनमै फेरि साग टिप्न सकिने भएकोले साप्ताहिक रूपमा आम्दानी लिन सकिने किसानहरुको भनाइरहेको छ ।

Leave a Reply