छर्लंग खुलेको आकाश । मुसुक्क मुस्कुराए जस्ता देखिएका छन् हिमाल । लालीगुराँस फूलेर राताम्यै भएका छन् पहाडहरू। प्रकृतिमा बैंस चढेको छ र बैंसालु प्रकृतिसँग रमाउदै आनन्द मनाउन वाख्लै युवायुवतीहरू पहाडतिर उक्लिएका छन् । म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन् । ढकमक्कै लालीगुराँस फूलेपछि लेकाली पहाडमा बैंस चढेको छ ।

वसन्त ऋतुको आगमनसँगै हिमाली जिल्ला म्याग्दीको वनपाखामा गुराँस फूलेको छ । वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फूलेपछि खासगरी म्याग्दीका लेकाली क्षेत्रहरू अहिले नवदुलही जस्तै सिंगारिएका छन् । फागुनदेखि जेठ महिनासम्म वनजंगलमा लालीगुराँस फूल्ने गर्दछ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फूलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रहरूमा छुट्टै खालको रौनक छाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फूलेर राताम्य भएको छ । यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्लीलगायत क्षेत्रमा पनि गुराँस फूलेको छ । वनपाखामा लालीगुराँस फूलेर राताम्य देखिएपछि पर्यटकहरू पुगेर रमाउन थालेका छन् । लामो समय कोरोना भाइरस र लकडाउनका कारण घरभित्रै बस्न बाध्य नेपालीहरू पर्यटकीय सिजन सुरु भएपछि बिदा मनाउन तथा साथीभाइसँग पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

उत्तरी अन्नपूर्ण गाउँपालिका-६, घारस्थित समुद्री सतहदेखि दुई हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजंगल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरू फूलेको स्थानीयले बताएका छन् । नेपालको वन जंगलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँसहरू फूल्ने गरेको छ । नेपालको राष्ट्रिय फूल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरू फूल्ने गर्दछन् । म्याग्दीका वनमा रातो, सेतो र कलेजी रङका गुराँसहरू फूल्ने गरेको स्थानीयको भनाइ छ ।

लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्यसमेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फूलेको गुराँसको आकर्षणले पर्यटकहरू लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरू, लालीगुराँस फूलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फूल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरू पुग्ने गर्दछन् ।

म्याग्दी जिल्लामा अहिले कुल ३१४ वटा सामुदायिक वनहरू रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फूल फूल्ने विरुवाहरू चाँडै नै फूल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।

गुराँसले सजियो स्वार्गाश्रम

बेनी नगरपालिका-३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र यतिबेला ढकमक्क फूलेको लालीगुराँसले रंगीविरंगी बनेको छ । चैत महिनाको सुरुवातदेखि नै यहाँका जंगलमा रहेका लालीगुराँसका बोटमा फूल फूल्न सुरु भएको थियो । भकिम्लीदेखि स्वर्गाश्रम हुँदै बेलढुंगा सम्मको क्षेत्र यतिबेला आन्तरिक पर्यटकहरूको लागि आकर्षण बनेको छ ।

सडक सञ्जालको पहुँच पुगेको कारण यस क्षेत्रमा गुराँसे जंगलमा रमाउनका लागि विदाको दिनमा आन्तरिक पर्यटकहरूको भिड नै लाग्ने गरेको छ । करिब दुई सय बर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिहरूले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँको रुपमासमेत परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वार्गाश्रम प्राकृतिक रुपमा रमणीय र धार्मिक ऐतिहासिक महŒव बोकेको भए पनि प्रचार प्रसारले यो क्षेत्र अझै ओझेलमा परेको छ । पछिल्लो समय यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले भने तीव्रता पाएको छ ।

Leave a Reply