---Advertisement---

माओवादी केन्द्र म्याग्दीले टुंगो लगायो ६ वडा अध्यक्षका उम्मेदवार

On: March 28, 2022 8:48 PM
Follow Us:

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले धमाधम वडा अध्यक्षको उम्मेदवार टुंगो लगाउन थालेको छ । निर्वाचन लक्षित अभियानमा केन्द्रित रहेको माओवादीले हालसम्म जिल्लाका ६ वडामा अध्यक्षको उम्मेदवार टुंगो लगाएको जनाएको छ ।

सोमबारसम्म बेनी नगरपालिका-३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई दोहोराउने निर्णय भएको छ भने मालिका–१ निस्कोटमा तिलक पुन, वडा नं ४ ओखरबोटमा रेशम पुन, धवलागिरी गाउँपालिका-६ मराङमा चक्र पुन र रघुगंगा गाउँपालिका–२ भगवतीमा नरबहादुर भण्डारीको नाम सर्वसम्मत भएको जिल्ला संयोजक रेशम जुग्जालीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘सबै वडामा उम्मेदवारलाई यो महिनाभित्र नै छनौट गछौं,‘पालिकाका अध्यक्षमा समेत तयारी भइरहेको छ’ अध्यक्ष जुग्जालीले भन्नुभयो । उहाँका अनुसार वडा अध्यक्षका उम्मेदवारलाई सदस्य पदका उम्मेदवारका लागि समेत तयारी गर्न निर्देशन दिइएको छ । माओवादीको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाभरी पार्टीको लोकप्रियता फर्किएकाले ४५ वटै वडा र छ वटै स्थानीय तहमा उमेद्वार खडा गरेर चुनावमा जाने निर्णय भएपछि धमाधम उम्मेदवार छनौटमा लागेको छ।

विप्लव नेकपाले समेत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिए वा सहयोग गरेमा कारवाही नगरिने निर्णयले माओवादीका उम्मेदवारलाई राहत मिलेको छ । वि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रका उमेद्वारले ५ वटा वडामा निर्वाचित भएका थिए । स्वतन्त्र उमेद्वार वनेर चुनाव जितेका मालिका–७ विमका वडा अध्यक्ष रेशम जुग्जालीले भने मालिका गाउँपालिका अध्यक्षको तयारीमा जुट्नुभएको छ ।