बेनी नगरपालिका–३,भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे ३ लाख मुल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ्ग मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मुल्य १ करोडभन्दा बढी छ ।श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा सतप्रशित शुद्ध बोएर बाख्रा मात्रै छन् । एकदशक अगाडी खाडीबाट फर्किदा बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष रित्तै थिए ।

उनले अन्तराष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रसस्तै कमाई गर्न सकेनन् । विदेशको धनले उतै रमाएका उनी घर फर्किएपछि आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट ब्यवसायीक बाख्रापालनको सोच बनाएका श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खदिर गरे ।

सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जुट्न सकेन् । स्थानीय जातका बाख्रामा क्रस गदैं बोएर बाख्राको स्रोतकेन्द्र सम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्।‘डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन्,‘अब बल्ल कमाई हुन थालेको छ’श्रीषले भने।

उनले गतबर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यसबर्ष करिब ५० लाखको लक्ष्य रहेको बताए । ‘बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु हो,‘महंगो भएपनि हुर्काउन र कमाउन सजिलो छ’ श्रीषले भने । नेपाल ब्यवसायिक बाख्रापालक महासंघको केन्द्रिय उपाध्यक्ष गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीहरूलाई समेत तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन्।

एकबर्षमा १ सयभन्दा बढी बोएर पु¥याउने र आधादशक भित्र बार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ सस्था र किसानहरू समेत आउने गरेका छन् । उनले माग अनुसार पुरा गर्न नसकेको बताउँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए।

बाख्रापालकको हकहितमाका लागि स्थापना भएको संस्थामा समेत आवद्ध भएपछि उनको ब्यवसायिक विस्तार देशैभर नै फैलिएको छ । हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे ३ लाखसम्मको ३० माउ, २ बोका र २२ पाठापाठी छन् । उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन् ।

बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती समेत गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निशुल्क समेत दिने गरेका छन् । श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका छन् । जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरु अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ ।

बाख्रापालनबाटै विदेशभन्दा राम्रो कमाई
बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा विताए । विदेशमा सुपरभाईजरसम्मको जिम्मेबारी पाएका मल्ल घर फर्किएपछि अष्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो। अष्ट्रेलिया जाने सोच बनाएका मल्लको घरमा बुबाले पालेको बाख्रापालनमा ध्यान गयो । करिब २ बर्ष साउदी र ४ बर्ष इराकमा पसिना बगाएका मल्ल विदेशको दुःखसँग परिचित थिए ।

विदेशको सपना त्यागेर आफ्नै गाउँठाँउमा केही गर्ने सोचमा बनाए । स्थानीय जातका बाख्राबाट सुरु गरेको ब्यवसायलाई उनले अहिले बोएर जातका बाख्रापालन गरेका छन् । ‘विदेश जाने मुड चेन्ज गरेर बाख्रापालन गरेको छु,अहिले नाफा कमाएको छैन्, बेचेर लगानी थपेको छु’ मल्लले भने । करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ८० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाएका छन्। बार्षिक १४ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाई छ । उनको फार्ममा ३ लाखसम्म पर्ने बोएर बोका छ ।

‘‘विदेशमा जाने बेलाको लगानी यही व्यवासायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रापालन सुरु गरेको हो’ उनले भने । छिमेकी र बाँझो जमिन लिजमा लिएर घाँस समेत विस्तार गरेका छन् । पछिल्लो समय बोएर जातको बाख्रापालनमा यूवाहरुको आर्कषण देखिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ्ग बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडी बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताए । उनले वडाभित्र कृषि, पशुपालन सहितका उत्पादनमुखी क्षेत्रमा सम्भावना भएकाले अनुदान सहित प्रोत्साहनमा जोड दिएको बताए ।

Leave a Reply